काठमाडौं । विश्व राजनीति र अर्थतन्त्रको केन्द्र अहिले चीनको राजधानी बेइजिङ बनेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने उच्चस्तरीय भेटवार्ताले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा नयाँ बहस सुरु गरेको छ । ट्रम्प दोस्रो कार्यकाल सुरु भएपछि पहिलोपटक चीन भ्रमणमा पुगेका हुन् भने सन् २०१७ पछि यी दुई नेताबीच प्रत्यक्ष भेट हुन लागेको हो ।
दुई देशबीच पछिल्ला वर्षहरूमा व्यापारिक तनाव, प्रविधि प्रतिस्पर्धा र सैन्य प्रभाव विस्तारको विषयमा लगातार मतभेद देखिँदै आएको छ । विशेषगरी अमेरिकाले चिनियाँ उत्पादनमा उच्च भन्सार शुल्क लगाएपछि सम्बन्ध केही चिसिएको थियो । तर पछिल्ला कूटनीतिक संवादले दुवै मुलुक फेरि सहकार्यतर्फ उन्मुख भएको संकेत दिएको छ ।
यसपटकको वार्तामा व्यापार र आर्थिक साझेदारीलाई प्रमुख प्राथमिकतामा राखिएको छ । अमेरिकाले नयाँ व्यापारिक ढाँचा प्रस्ताव गर्ने तयारी गरिरहेको बताइएको छ । दुर्लभ खनिज धातुमा पहुँच विस्तार गर्न चाहेको अमेरिकाले चीनसँग दीर्घकालीन सहकार्य खोजिरहेको छ । उता चीनले अमेरिकी कृषि उत्पादनको आयात बढाउने तथा बोइङ विमान खरिदबारे सकारात्मक संकेत दिएको चर्चा छ ।
प्रविधि क्षेत्रमा अमेरिकाले लगाएका प्रतिबन्ध पनि छलफलको महत्वपूर्ण विषय बन्ने भएका छन् । चीनले एआई र उच्च प्रविधिसम्बन्धी प्रतिबन्ध खुकुलो बनाउन आग्रह गर्ने अपेक्षा गरिएको छ । ताइवानलाई अमेरिकी सैन्य सहयोग र प्रस्तावित हतियार प्याकेजले पनि वार्तामा संवेदनशील स्थान पाउने निश्चित देखिएको छ ।
यसका साथै इरान युद्ध, तेल बजार र ऊर्जा सुरक्षाको विषयमा पनि दुई नेताबीच गम्भीर छलफल हुने बताइएको छ । ट्रम्पको भ्रमण टोलीमा एलन मस्क, टिम कुक लगायत अमेरिकी ठूला कम्पनीका प्रमुखहरू सहभागी हुनुबाट अमेरिका–चीन व्यापारिक सम्बन्धलाई नयाँ मोड दिन खोजिएको विश्लेषण गरिएको छ ।