संसद् अवरोधपछि आज प्रधानमन्त्री बालेन्द्र शाहले दिनेछन् सांसदका प्रश्नको जवाफ

nepal news portal

काठमाडौँ, वैशाख ३१ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ। बुधबार प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसद्मा तीव्र विवाद र हंगामा भएपछि आज प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर जवाफ दिन लागेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले विभिन्न जिज्ञासा र प्रश्न उठाएका थिए। ती प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने पूर्वनिर्धारित कार्यसूची रहे पनि बुधबार प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई जवाफ दिन पठाइएपछि प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए।

प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गरेका थिए। चर्को नाराबाजी र अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित गर्नुपरेको थियो। त्यसपछि संसद् सचिवालयले आज बिहान ११ बजेका लागि पुनः बैठक बोलाएको हो।

आजको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा प्राथमिकतामाथिको छलफललाई लिएर संसद्मा राजनीतिक चासो बढेको छ।

यस्तै, आजकै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ। यसबाहेक प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ सभामा पेस गर्ने कार्यसूची रहेको बताइएको छ।

बुधबारको संसद् अवरोधपछि आजको बैठकलाई राजनीतिक रूपमा निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ।