काठमाडौं, वैशाख ३० — प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ स्वयं नदिने निर्णय गरेपछि प्रतिनिधिसभामा बुधबार तनाव र हंगामा भएको छ। प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्ले लाई जवाफ दिन समय दिइएपछि प्रतिपक्षी दलहरूले तीव्र विरोध जनाएका हुन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले संसदमा सरकारको तर्फबाट जवाफ दिने सूचना प्राप्त भएको हो। तर प्रधानमन्त्रीले किन स्वयं उपस्थित भएर जवाफ नदिएको भन्ने कारणबारे स्पष्ट जानकारी नभएको उनले बताइन्।
सामान्यतया सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिने संसदीय परम्परा रहँदै आएको छ। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा पनि प्रधानमन्त्री शाहले नै जवाफ दिने उल्लेख गरिएको थियो। तर अन्तिम समयमा कार्यसूची परिवर्तन गर्दै अर्थमन्त्रीलाई जिम्मेवारी दिइएपछि संसदमा विवाद उत्पन्न भएको हो।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई “गैरजिम्मेवार र संसदप्रतिको अनादर” भन्दै आपत्ति जनाएका थिए। केही सांसदहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्वबाट पन्छिन खोजेको आरोप लगाए। विरोध चर्किएपछि बैठक केही समय अवरुद्धसमेत भएको थियो।
प्रधानमन्त्री शाह पछिल्लो समय संसदीय मर्यादा उल्लंघन गरेको आरोपमा आलोचित हुँदै आएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद बैठक छाडेर बाहिरिएको घटनापछि उनको व्यवहारमाथि थप प्रश्न उठिरहेको छ। त्यसयता उनले संसदमा कुनै धारणा सार्वजनिक नगरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुबै वृत्तमा चर्चा भइरहेको छ।
बुधबारको बैठकमा राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी राख्ने, सांसदहरूबाट प्राप्त संशोधन प्रस्ताव पेश गर्ने तथा सरकारको धारणा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो। तर प्रधानमन्त्रीको अनुपस्थितिले राजनीतिक माहोल थप तातेको छ।