काठमाडौं उपत्यकाको उत्तरतर्फ अवस्थित टोखा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान हो। यहाँ नेवार समुदायको बाहुल्य रहेको छ र परम्परादेखि नै विभिन्न जात्रा तथा संस्कृतिहरू संरक्षण हुँदै आएका छन्। तीमध्ये प्रमुख रूपमा मनाइने पर्व हो बिस्का नखः (बिस्का जात्रा), जसले नयाँ वर्षको आगमनसँगै सांस्कृतिक उत्साह, धार्मिक आस्था र सामुदायिक एकतालाई झल्काउँछ।
यो जात्रा प्रत्येक वर्ष वैशाखको सुरुवातसँगै पाँच दिनसम्म भव्य रूपमा मनाइन्छ। नेवाः गुथि टोखा को व्यवस्थापन तथा स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन हुने यस जात्रामा विभिन्न देवदेवीका रथयात्रा, सिन्दूर जात्रा, स्नान मेला तथा बाजागाजासहितका परम्परागत गतिविधिहरू समावेश हुन्छन्।
विशेषतः सपनतीर्थ, बागद्वार र सिद्धपोखरी जस्ता धार्मिक स्थलहरू यस जात्रासँग गहिरो रूपमा जोडिएका छन्। भक्तजनहरू नयाँ वर्षको अवसरमा स्नान, पूजा र दर्शन गरी शुभकामना आदान–प्रदान गर्छन्।
यसरी, टोखामा मनाइने बिस्का नखः केवल एउटा पर्व मात्र नभई सांस्कृतिक पहिचान, धार्मिक विश्वास र ऐतिहासिक निरन्तरताको प्रतीकका रूपमा स्थापित रहेको छ।
टोखामा बिस्का नखः २०८३ कार्यक्रम तालिका
📅 वैशाख १ गते:
नयाँ वर्षको पहिलो दिन टोखा मा बिस्का नखः विशेष उत्साहका साथ सुरु हुन्छ। बिहानै भक्तजनहरू बागद्वार मा स्नान गर्न पुग्छन् र त्यहाँबाट फर्केर सपनतीर्थ मा दर्शन तथा स्नान गर्छन्। सिद्धपोखरी मा पवित्र स्नान गर्ने परम्परा पनि यसै दिन रहन्छ। साँझपख सपनविनायक, चण्डेश्वरी र मसानकालीका रथ गाउँमा ल्याइन्छन्, बाजागाजासहित परिक्रमा गरिन्छ र क्रमशः यलागः, थलागः र भूतखेलमा बिसाइन्छ।
📅 वैशाख २ गते:
दोस्रो दिन बिहान तीनवटै रथलाई गाउँ परिक्रमा गराइन्छ। मसानकाली र कोठु गणेशको रथलाई एकसाथ थलागः टोलमा राख्ने विशेष चलन छ। दिउँसो जीवित देवी कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याइन्छ र सिन्दूर जात्रा मनाइन्छ। साँझ पुनः गाउँ परिक्रमा गरी सबै रथ तपलाक्षीःमा राखिन्छन्। राति भक्तजनहरू रथ अगाडि भजन–कीर्तन गर्दै जाग्राम बस्ने परम्परा रहन्छ।
📅 वैशाख ३ गते:
तेस्रो दिन बिहान तपलाक्षीःबाट सिन्दूर जात्रा सुरु गरी देवताहरूलाई गाउँ परिक्रमा गराइन्छ। त्यसपछि हासल टोलमा रथहरू बिसाइन्छन्। दिउँसो पुनः कुमारीसहित पूजा ल्याएर सिन्दूर जात्रा गरिन्छ र केही रथलाई पोखरीमा चोख्याउने प्रक्रिया सम्पन्न हुन्छ। बेलुका मसानकालीको मन्दिर परिक्रमा गर्दै कोनेलाक्षीःमा रथ राखिन्छ। यस दिन पनि राति भजन–कीर्तन र जाग्राम बस्ने चलन जारी रहन्छ।
📅 वैशाख ४ गते:
अन्तिम दिन बिहानै सिन्दूर जात्रा र बाजागाजासहित गाउँ परिक्रमा गरिन्छ। त्यसपछि गच्छे टोलमा रथहरू बिसाइन्छन्। दिउँसो जीवित देवी कुमारीसहित अन्तिम पूजा सम्पन्न गरी रथहरू कपडा बिछ्याएर गाउँ परिक्रमा गराउँदै आ–आफ्नो मन्दिरमा भित्र्याइन्छ। यससँगै बिस्का नखः औपचारिक रूपमा समापन हुन्छ।
📅 वैशाख ५ गते:
जात्राको अन्तिम चरणका रूपमा बिहान लिङ्गो ढालिन्छ, जसलाई बिस्का नखः को बिसर्जनको प्रतीक मानिन्छ। यस कार्यसँगै सम्पूर्ण जात्रा विधिवत् समाप्त हुन्छ।
टोखामा बिस्का नखः – ऐतिहासिक र धार्मिक महत्व
काठमाडौं उपत्यकाको प्राचीन बस्ती टोखा मा मनाइने बिस्का नखः (बिस्का जात्रा) केवल सांस्कृतिक पर्व मात्र नभई गहिरो ऐतिहासिक र धार्मिक महत्व बोकेको जात्रा हो। ऐतिहासिक रूपमा टोखा प्राचीन व्यापारिक नाका र नेवार सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा परिचित रहँदै आएको छ। यहाँ मनाइने बिस्का नखःले पुराना राजकीय परम्परा, स्थानीय गुठी प्रणाली र नेवार समुदायको जीवनशैलीलाई निरन्तरता दिएको छ। लिङ्गो उठाउने तथा ढाल्ने, रथयात्रा सञ्चालन गर्ने जस्ता गतिविधिहरूले प्राचीनकालदेखि चलिआएको शक्ति, समयचक्र र नयाँ वर्षको आरम्भसँग जोडिएको प्रतीकात्मक अर्थ झल्काउँछन्।
धार्मिक दृष्टिले, यो जात्रा विभिन्न देवी–देवतासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ, विशेषतः सपनतीर्थ, बागद्वार र सिद्धपोखरी जस्ता तीर्थस्थलहरूसँग यसको गहिरो सम्बन्ध छ। नयाँ वर्षको अवसरमा यी स्थानमा स्नान, पूजा र दर्शन गर्दा पाप नाश हुने, रोग निको हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। विशेष गरी सपनतीर्थमा स्नान गर्दा कुष्ठरोग समेत निको हुने भन्ने किम्वदन्तीले यस मेलालाई अझ महत्वपूर्ण बनाएको छ।
यसका साथै, जीवित देवी कुमारीको सहभागिता, तलेजुबाट ल्याइने पूजा र सिन्दूर जात्राले शक्तिपूजा तथा तान्त्रिक परम्पराको झल्को दिन्छ। रथयात्रा, गाउँ परिक्रमा र जाग्राम जस्ता गतिविधिहरूले समुदायबीच एकता, आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाउँछन्। त्यसैले टोखाको बिस्का नखःलाई इतिहास, धर्म र संस्कृतिको संगमका रूपमा लिने गरिन्छ।