नयाँबजारमा समुदाय–प्रहरी नागरिक सुनुवाई सम्पन्न, शान्ति सुरक्षामा चासो

nepal news portal

काठमाडौंको नयाँबजारस्थित मल्टी भेन्यु हलमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत नागरिक सुनुवाई तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जेनजी आन्दोलनपछिको अवस्थालाई केन्द्रमा राख्दै आयोजित कार्यक्रममा बढ्दो लुटपाट, चोरी, डकैती लगायतका घटनाले शान्ति सुरक्षा कमजोर बन्दै गएको भन्दै स्थानीयवासीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। साथै प्रहरीसँग पर्याप्त स्रोत–साधनको अभाव रहेको अवस्थाले प्रभावकारी सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको धारणा समेत राखिएको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासी गोपाल महर्जनले दिनहुँ लुटपाट र चोरीका घटना बढ्दै गएको तर प्रहरी परिचालन पर्याप्त नभएको गुनासो गरे। त्यस्तै आर.बी. थकुरीले नागरिकलाई घटना हुँदा डर नमानी प्रहरीमा रिपोर्ट गर्न आग्रह गर्दै घरेलु हिंसाजस्ता घटनासमेत लुकाएर नराख्न अनुरोध गरे। उनले नागरिक सुनुवाई कार्यक्रम नियमित हुनुपर्नेमा जोड दिँदै नयाँ डीएसपी आएको बेला मात्र यस्ता कार्यक्रम हुने र अन्य समयमा बेवास्ता हुने प्रवृत्तिप्रति आपत्ति जनाए।

खुसिबुँ निवासी प्रतिमा मानन्धरले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कमजोर भएको, गार्मेन्ट उद्योगबाट वातावरण प्रदूषण बढेको, रातभरि ठूलो आवाजमा संगीत बजाइने, प्लास्टिकजन्य फोहोर बढेको, घरपालुवा कुकुरहरूबाट फोहोर फैलिने र लागुऔषध कारोबार हुने थलो बनेको भन्दै गुनासो गरिन्। उनले विशेषगरी महिला र बालिकालाई हिँडडुल गर्न कठिन भएको र स्थानीयवासी त्रसित बनेको बताउँदै यस्ता कार्यक्रम निरन्तर गरी समाधान खोज्नुपर्नेमा जोड दिइन्।

अन्जु सिंह चौधरी पाण्डेले लुटपाट र दुर्घटना बढ्दै गएको भन्दै आवश्यक स्थानमा स्पिड ब्रेकर राख्नुपर्ने माग गरिन्। नरेश महर्जनले ठमेलबाट फर्किने व्यक्तिहरूले राति होहल्ला गर्ने, प्रहरी साइरन नबजाई परिचालन गर्नुपर्ने र चोरहरू लुक्ने तथा भाग्ने समस्या रहेको उल्लेख गरे।

जय कमान सिंहले पर्यटकीय क्षेत्र ठमेलमा बढ्दो विकृतिका कारण पर्यटकहरू नै असहज हुने अवस्था सिर्जना भएको, प्रहरी तथा पर्यटक प्रहरीलाई सूचना दिँदा बेवास्ता गरिने गरेको गुनासो गरे। उनले खुलेआम लागुऔषध किनबेच हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नागरिक सुनुवाईका निष्कर्षहरू कार्यान्वयन गर्न आग्रह गरे।

अर्का स्थानीयवासीले कुस्लेचौर माथि कपाली स्माधिस्थल आसपास क्षेत्रमा नियमित रूपमा लागूऔषध सेवन हुने र सो क्षेत्र पहिले पनि लुटपाटका लागि कुख्यात रहेको भन्दै कडा कारबाहीको माग गरे। विष्णु पनेरुले धारागल्ली क्षेत्र असुरक्षित बन्दै गएको भन्दै प्रहरी परिचालन आवश्यक रहेको बताए।

रामकुमार श्रेष्ठले विष्णुमति करिडोर क्षेत्रमा सिक्री लुट्ने तथा लुटपाटका घटना बढेपछि आफ्नै पहलमा सिसिटिभी जडान गरेको जानकारी दिँदै नागरिक आफैँ पनि सजग र जिम्मेवार हुनुपर्नेमा जोड दिए। भगवती बस्नेतले बालाजु हाइटमा जडान गरिएको सिसिटिभी हाल सञ्चालनमा नरहेको भन्दै त्यसको व्यवस्थापन गरिदिन आग्रह गरिन्।

काठमाडौं महानगरपालिका–१६ का सदस्य प्रवेश श्रेष्ठले नागरिक सुनुवाई खुला स्थानमा आयोजना हुनुपर्ने धारणा राखे। वडा अध्यक्ष रोजिना श्रेष्ठले प्रहरीसँग समन्वय गरेर आवश्यक जेब्रा क्रसिङ र स्पिड ब्रेकर निर्माणका लागि पहल गर्ने, जेनजी आन्दोलनबाट ध्वस्त भएका संरचनाहरू पुनःस्थापना गर्ने तथा समस्या परे वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिन्। उनले डान्सबारहरूको ध्वनि प्रदूषण नियन्त्रणका लागि मापदण्डअनुसार सञ्चालन गराउन पहल गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा उठेका गुनासो र सुझावहरू सम्बोधन गर्दै प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले महानगरपालिका तथा सम्बन्धित वडा कार्यालयहरूसँग समन्वय गरी आगामी दिनमा प्रहरी सेवालाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा हुने कुनै पनि आपराधिक गतिविधिबारे निर्धक्क रूपमा प्रहरीलाई जानकारी गराई सहयोग गर्न नागरिकलाई आग्रह गरे।