सपनतिर्थ र नजिकै रहेको सिद्धिपोखरी काठमाडौं उपत्यकाको उत्तरी भागस्थित टोखा क्षेत्रका महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल हुन्। परम्परागत रूपमा यो स्थान नेवार समुदायको आस्था, संस्कृति र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ।
सपनतिर्थ नामले नै संकेत गर्छ—“सपनामा देखिएको इच्छा पूरा हुने पवित्र स्थान।” यहाँ दर्शन तथा पूजा गरेपछि मनोकामना पूरा हुने, रोगव्याधि निको हुने र जीवनमा सकारात्मक परिवर्तन आउने जनविश्वास रहेको छ। यसैले टाढाटाढाबाट भक्तजनहरू यहाँ आउने गर्दछन्।
सिद्धिपोखरी यस क्षेत्रको प्रमुख जलस्रोत मात्र नभई धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। पोखरीलाई पवित्र तिर्थको रूपमा लिइन्छ, जहाँ स्नान, पूजा तथा दीप प्रज्वलन गर्ने चलन छ। पोखरी वरिपरि रहेका पाटी, मन्दिर तथा खुला स्थानहरूले यसलाई सामाजिक तथा सांस्कृतिक केन्द्रको रूपमा विकास गरेका छन्।
टोखाको बिस्का जात्रा, विभिन्न पर्व तथा स्थानीय अनुष्ठानहरूमा सपनतिर्थ र सिद्धिपोखरी विशेष रूपमा जोडिन्छन्। यसले स्थानीय समुदायको धार्मिक अभ्यास मात्र नभई सांस्कृतिक पहिचानलाई पनि जोगाइराखेको छ।
यहाँ सिद्धि बिनायक मन्दिर पनि रहेको छ, जुन बिस्का जात्रामा सक्रिय रूपमा सहभागी हुन्छ र यस क्षेत्रको धार्मिक महत्वलाई अझ बढाउँछ।
सपनतिर्थको किम्वदन्ती
सत्ययुगको कुरो हो, एक राजपरिवारमा राजा सत्यवन्तका सात वटी छोरीहरू थिए। समयक्रमसँगै ती सबै छोरीहरू हुर्कँदै गए। छोरीहरू ठूलो भएपछि छ जना छोरीहरूलाई सम्भ्रान्त राजपरिवारका राजकुमारहरूसँग विवाह गराइयो, जहाँ उनीहरूलाई अनगिन्ती दाइजो, सुख–सुविधा र सम्मान दिइयो।
तर कान्छी छोरी सत्यकेशरीको भाग्य भने फरक बन्यो। उनलाई गरीब, असहाय, अपाङ्ग तथा कुष्ठरोगी पुरुषसँग विवाह गराइयो। अरू छोरीहरूलाई जस्तो दाइजो वा सुविधा उनलाई दिइएन।
यद्यपि सत्यकेशरी अत्यन्तै दयालु, स्वच्छ हृदय भएकी, दृढ विश्वास भएकी र आमाबुवाप्रति अपार निष्ठा भएकी थिइन्। उनले आफ्नो भाग्यलाई स्वीकार गर्दै आमाबुवाको वचनलाई शिरोधार्य गरिन् र आफ्नो कर्मअनुसार रोगी पतिको घरमा गई जीवनयापन गर्न लागिन्।
बाँच्नका लागि उनीहरू अत्यन्त दुःखकष्ट सहेर भिख माग्दै जीवन बिताउन थाले। यसै क्रममा एकदिन उनीहरू टोखास्थित सपनतिर्थ मन्दिर परिसर नजिकै रहेको सिद्धिपोखरी छेउको पाटीमा पुगे।
सत्यकेशरीले आफ्ना अपाङ्ग पतिलाई त्यही पाटीमा राखेर आफू शहरतर्फ भिख माग्न गइन्। त्यही बेला नजिकैको सिद्धिपोखरीमा गाईवस्तु चराउन आएका गोठालाहरूले किरा–फट्याङ्ग्रा समातेर तिनका खुट्टा र पखेटा छुट्याउँदै पोखरीमा फालिरहेका थिए। अचम्मको कुरा, केही समयमै ती किरा–फट्याङ्ग्रा पुनः जस्ताको तस्तै सवल भई उडेर जान्थे।
यो दृश्य अपाङ्ग पतिले ध्यानपूर्वक हेरे। उनले सोच्न थाले—“मेरो शरीर पनि अपाङ्ग र कुष्ठरोगले ग्रसित छ, यदि म पनि यस पोखरीमा डुब्न पाएँ भने सायद म पनि निको हुन सक्छु।”
धेरै बेर सोचविचार गरेपछि उनले गोठालाहरूलाई बोलाएर विनम्रतापूर्वक अनुरोध गरे—“मलाई पनि पोखरीमा लगेर डुबाइदिनुहोस्, म पनि किराहरूजस्तै स्वस्थ र सवलाङ्ग हुन सक्छु होला।” तर गोठालाहरू डराए—“केही भयो भने दोष हामीलाई लाग्छ,” भन्दै कसैले पनि सहयोग गर्न मानेनन्।
अन्ततः उनले आफैं साहस गरे। उनी बसेको पाटीबाट गुल्टिदै–गुल्टिदै पोखरी नजिक पुगे, आफ्नो वस्त्र फुकालेर सिद्धिपोखरीमा हाम फाले।
केही समयपछि अद्भुत चमत्कार भयो—उनको अपाङ्ग शरीर पूर्ण रूपमा सवलाङ्ग र निरोगी बन्यो। उनी आश्चर्यचकित र अत्यन्त खुसी हुँदै फेरि पहिलेकै पाटीमा फर्किएर वस्त्र लगाई बसे।
यो दृश्य देखेर गोठालाहरूले हल्ली–खल्ली मच्चाए। चारैतिरबाट मानिसहरू भेला हुन थाले, हेर्न आउनेको भीड लाग्यो।
त्यही बेला भिख मागेर फर्किएकी सत्यकेशरी पनि त्यहाँ आइपुगिन्। भीडबीच उनले आफ्ना पतिलाई खोजिन्, तर भेटाउन सकिनन्। त्यही ठाउँमा एक स्वस्थ, सवलाङ्ग पुरुष बसेका थिए। उनले “म नै तिम्रो पति हुँ” भनेर चिनाउन खोजे, तर सत्यकेशरीले विश्वास गरिनन्।
उनले भनिन्—“तिमीले मलाई छल गर्न खोज्दैछौ, मेरो इज्जत र अस्तित्व लुट्न खोज्दैछौ, मेरो पति तिमी कुनै हालतमा हुन सक्दैनौ।”
त्यसपछि ती पुरुषले आफूले भोगेको सम्पूर्ण घटना विस्तारमा सुनाए। त्यहाँ उपस्थित मानिसहरूले पनि सोही कुरा पुष्टि गरे। त्यसपछि मात्र सत्यकेशरीले विश्वास गरिन्।
यसपछि सत्यकेशरी र उनका पति दुवै जना अत्यन्त खुसी भए। उनीहरूले एक–अर्कासँग आफ्नो खुसी साटासाट गरे र त्यहाँ उपस्थित मानिसहरूसँग पनि आनन्द बाँडे। साथै, उनीहरूले सिद्धिपोखरीको चमत्कारी शक्तिबारे व्यापक रूपमा चर्चा गरे।
यस किम्वदन्तीका कारण टोखाको सपनतिर्थ र सिद्धिपोखरी आजसम्म पनि मनोकामना पूरा गर्ने, रोग निको पार्ने पवित्र तिर्थका रूपमा श्रद्धापूर्वक पुज्ने गर्दछ्न् ।
कहाँ र कहिले मनाइन्छ ?
टोखा क्षेत्र, विशेषगरी टोखा मा सपनतिर्थ र सिद्धिपोखरीसँग सम्बन्धित धार्मिक गतिविधिहरू वर्षभरि नै सञ्चालन हुन्छन्। विशेषगरी बिस्का जात्रा, नयाँ वर्ष (वैशाख), नागपञ्चमी तथा अन्य स्थानीय पर्वहरूको समयमा यहाँ विशेष पूजा, मेला र धार्मिक अनुष्ठान गरिन्छ। यी अवसरहरूमा भक्तजनहरूले स्नान गर्ने, दीप प्रज्वलन गर्ने, मन्दिरमा पूजा गर्ने र मनोकामना माग्ने परम्परा रहेको छ, जसले यस स्थानलाई अझ जीवित र आस्थाको केन्द्र बनाएको छ।
ऐतिहासिक तथा धार्मिक महत्व
टोखाको सपनतिर्थ र सिद्धिपोखरी धार्मिक आस्था, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित छन्। यी स्थलहरू केवल पूजा गर्ने ठाउँ मात्र नभई समाजको जीवनशैली, विश्वास र परम्पराको अभिन्न हिस्सा हुन्।
ऐतिहासिक रूपमा, टोखा क्षेत्र प्राचीन व्यापारिक मार्गसँग जोडिएको थियो, जसले यहाँ धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। सपनतिर्थ र सिद्धिपोखरी यिनै गतिविधिहरूको केन्द्रका रूपमा विकसित भएका हुन्।
धार्मिक दृष्टिले, यस स्थानलाई चमत्कारी शक्ति भएको तिर्थ मानिन्छ। यहाँ पूजा गर्दा रोग निको हुने, दुःख कष्ट हट्ने र मनोकामना पूरा हुने विश्वास छ। सत्यकेशरीको किम्वदन्तीले यस विश्वासलाई अझ मजबुत बनाएको छ, जसले निष्ठा, प्रेम र विश्वासको सन्देश दिन्छ।
सामाजिक रूपमा पनि यो स्थान अत्यन्त महत्वपूर्ण छ। यहाँ हुने जात्रा, पूजा तथा मेलाहरूले समुदायलाई एकताबद्ध बनाउने, सांस्कृतिक पहिचान जोगाउने र नयाँ पुस्तालाई परम्परासँग जोड्ने काम गर्छन्।
यसरी, टोखाको सपनतिर्थ र सिद्धिपोखरी धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अमूल्य सम्पदा हुन्, जसले आज पनि मानिसहरूको आस्था र विश्वासलाई जीवित राखिरहेका छन्।