काठमाडौं, १४ कात्तिक। सरकारले देशभर रहेका परम्परागत चौताराहरूको पहिचान, अभिलेखीकरण तथा अद्यावधिक विवरण संकलन गर्ने प्रक्रिया सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकभरका चौताराहरूको एकीकृत सूची तयार पार्ने उद्देश्यले विवरण संकलन अघि बढाएको हो।
यसका लागि मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आवश्यक समन्वय र सहयोग मागेको छ।
मन्त्रालयका पुरातत्त्व अधिकृत भीष्म बसकोटाले सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै देशभरका चौताराहरूको विवरण संकलनमा सहजीकरण गरिदिन अनुरोध गरेका छन्। गत अक्टोबर २६ मा सचिवस्तरबाट भएको निर्णयअनुसार ७७ वटै जिल्ला र ७५३ स्थानीय तहमा रहेका चौताराहरूको अद्यावधिक विवरण संकलन गर्ने प्रक्रिया अघि बढाइएको हो।
विवरण संकलनका लागि मन्त्रालयले निश्चित ढाँचा तयार गरी फारामसमेत पठाएको छ। उक्त फाराममा स्थानीय तहमा रहेका चौताराहरूको विवरण अभिलेख गर्ने व्यवस्था गरिएको छ।
संस्कृति मन्त्रालयको अनुरोधपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ। शाखाका अधिकृत प्रकाश पन्थीले स्थानीय सरकारहरूलाई आवश्यक विवरण उपलब्ध गराउन तथा संकलन कार्यमा सहयोग गर्न आग्रह गर्दै पत्र पठाएका हुन्।
सबै स्थानीय तहमा इमेलमार्फत पत्र पठाइएको मन्त्रालयले जनाएको छ।
नेपालको सामाजिक तथा सांस्कृतिक जीवनमा चौताराहरूको विशेष महत्त्व रहँदै आएको छ। विगतमा पैदलयात्रीले लामो यात्रा गर्दा थकाइ मार्ने, विश्राम गर्ने र आपसमा भेटघाट तथा कुराकानी गर्ने साझा सार्वजनिक स्थलका रूपमा चौताराहरू प्रयोग हुँदै आएका थिए। बरपीपलजस्ता रुखको छहारीमा निर्माण गरिएका यस्ता संरचना नेपाली ग्रामीण जीवन, लोकसंस्कृति र परम्परासँग जोडिएका छन्।
तर पछिल्लो समय सडक विस्तार, सहरीकरण र संरक्षणको अभावका कारण कतिपय पुराना चौताराहरू मासिँदै वा जीर्ण बन्दै गएका छन्। सरकारले सुरु गरेको यो विवरण संकलनले देशभरका चौताराहरूको वास्तविक अवस्था पहिचान गर्न र भविष्यमा तिनको संरक्षण तथा व्यवस्थापनका लागि आधार तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्