दसैँको रौनक बढाउन नगरकोटमा चारदिने ‘चङ्गा चेट’ महोत्सव, असोज २८ देखि सुरु हुने

insight dainik

काठमाडौं । दसैँको उमङ्ग, आकाशमा उड्ने रङ्गीचङ्गी चङ्गा र सांस्कृतिक मनोरञ्जनलाई एकै ठाउँमा जोड्दै नगरकोटमा चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ महोत्सव आयोजना हुने भएको छ। असोज २८ देखि ३१ गतेसम्म सञ्चालन हुने महोत्सवले दसैँको उत्सवलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ।

नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा आयोजना हुन लागेको महोत्सवले लामो समयदेखि चल्दै आएको चङ्गा उडाउने परम्परालाई पुनः जीवन्त बनाउने लक्ष्य राखेको छ। केही वर्षदेखि रोकिएको यस उत्सवलाई नयाँ उत्साहका साथ निरन्तरता दिन लागिएको आयोजकले जनाएको छ।

नेपाली समाजमा दसैँसँग चङ्गा उडाउने परम्पराको विशेष सम्बन्ध छ। वर्षायाम सकिएर आकाश खुल्ने समयमा परिवार, साथीभाइ र समुदायका मानिसहरू एकत्रित भई चङ्गा उडाउनु दसैँको सांस्कृतिक पहिचानमध्ये एक मानिन्छ। यही परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउँदै आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

चार दिनसम्म चल्ने महोत्सवमा चङ्गा उडाउने मुख्य गतिविधिका अतिरिक्त लाइभ म्युजिक, नृत्य, खानाका स्टल, फेस पेन्टिङ, पोटरी, जादु प्रदर्शन तथा स्ट्यान्डअप कमेडीलगायत मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछन्। सहभागीले दसैँ विशेष परिकारको स्वाद लिनुका साथै हिटेड स्विमिङ पुल र ज्याकुजीको सुविधासमेत उपभोग गर्न सक्नेछन्। काठमाडौं उपत्यकाबाट नगरकोट पुग्नेहरूका लागि अतिरिक्त शुल्कमा यातायातको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।

माउन्टेन भिस्टा रिट्रिटका सञ्चालक अर्जुन सिंह ठकुरीका अनुसार ‘चङ्गा चेट’ मनोरञ्जनमा मात्र सीमित नभई नेपाली संस्कृति, परम्परा र पारिवारिक जमघटलाई प्रवर्द्धन गर्ने अभियान पनि हो। यस वर्ष ‘यसपालिको दसैँ, आकाशमा चङ्गा, मनमा उमङ्ग!’ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागिएको उनले बताएका छन्।

महोत्सवमा पूर्वमिस नेपाल उषा खड्गीलगायत कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ। आगामी दिनमा यस कार्यक्रमलाई अझ विस्तार गरी ठूलो महोत्सवका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ।

सांस्कृतिक उत्सव, खानपान र मनोरञ्जनको संयोजनले दसैँअघि नगरकोटको पर्यटन व्यवसायलाई थप चलायमान बनाउने र स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्