बागलुङमा पहिरोको कहर : तीन दिनमा १४ जनाको मृत्यु, एक बेपत्ता

insight dainik

बागलुङमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। पहिरोमा परी जिल्लाका विभिन्न स्थानमा १४ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पछिल्लो घटनामा ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ निवासी ७९ वर्षीया नरमाया रोका रहेका छन्।

पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यसअघि शनिबार ताराखोला गाउँपालिकामै पहिरोमा परी एक जनाको मृत्यु भएको थियो। त्यसपछि आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए।

त्यस्तै, निसीखोला गाउँपालिकामा पनि पहिरोमा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पछिल्लो घटनासँगै जिल्लामा बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या १४ पुगेको हो।

लगातारको वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा पहिरो जाने क्रम बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। ग्रामीण क्षेत्रमा सडक तथा आवागमनसमेत प्रभावित भएको छ।

प्रहरी तथा स्थानीय तहले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएका छन्। बेपत्ता व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षा जारी रहेकाले पहिरोको जोखिम रहेका क्षेत्रमा थप सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्