काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन २५ भन्दा बढी हेभी उपकरण परिचालन गरिएको छ।
निरन्तर वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो। कमेरेभिर, १२ किलो, बाँगेमोड, पोखरेखोला, चालिसे, परेवाभिर, शीतलबजार, गोमती, कृष्णभिर, ज्यामिरेघाट, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभिर र सिमलधारालगायत स्थानमा पहिरो खसेको जनाइएको छ।
पहिरोका कारण सडकमा ढुंगा, माटो तथा अन्य मलबे थुप्रिएपछि यातायात सञ्चालनमा समस्या भएको हो। सडक खुलाउन विभिन्न स्थानमा एकैपटक डोजर तथा अन्य हेभी मेसिन परिचालन गरी पहिरो र सडकमा थुप्रिएको मलबे हटाउने काम भइरहेको छ।
सम्बन्धित निकायका अनुसार सडकमा थुप्रिएको पहिरो हटाउने कामलाई तीव्रता दिइएको छ। लामो दूरीका सवारीसाधनसमेत प्रभावित भएकाले सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मौसम अनुकूल रहेमा आइतबार साँझसम्म नौबिसे–मुग्लिन सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।
तर, पहिरो हटाइसकेपछि पनि थप वर्षा भएमा पुनः सडक अवरुद्ध हुनसक्ने जोखिम रहेको छ। पृथ्वी राजमार्ग राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पूर्व–पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख मार्ग भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनमा ठूलो असर पर्ने गरेको छ।
वर्षा र पहिरोको जोखिम कायमै रहेकाले सडकमा यात्रा गर्ने यात्रुलाई अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्