हिजो बिजुली बेच्ने नेपाल, आज बाढीले हाइड्रोमा ठूलो क्षति

insight dainik

काठमाडौँ । केही वर्षयता वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् भारत हुँदै बंगलादेशसम्म निर्यात गर्न थालेको नेपाल अहिले भने बाढी–पहिरोका कारण आफ्नै जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति व्यहोर्न पुगेको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी–पहिरोले विभिन्न नदी करिडोरमा रहेका २७ भन्दा बढी जलविद्युत् आयोजनाको करिब एक हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्। कालीगण्डकी करिडोरका १३ र अन्य नदी बेसिनका १४ आयोजना प्रभावित भएको उनको भनाइ छ।

बाढीले उत्पादन गृहमा मात्रै नभई प्रसारण लाइन, वितरण प्रणाली र सबस्टेसनमा समेत क्षति पुर्‍याएको छ। मन्त्री श्रेष्ठका अनुसार कालीगण्डकी करिडोरको प्रसारण लाइन अवरुद्ध हुँदा मात्रै १३ आयोजनाको करिब ३७० मेगावाट उत्पादन प्रभावित भएको छ।

क्षतिग्रस्त आयोजनामध्ये निलगिरी–१, निलगिरी–२, मिस्त्री, थापाखोला, रेलेखोला र घलेम्दी लगायतका आयोजनाबाट प्रभावित १९०.४ मेगावाट उत्पादन पुनः सञ्चालन गर्न केही महिना लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डसमेत कालीगण्डकी नदीको कटानबाट क्षतिग्रस्त भएको छ।

यसअघि भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले पनि जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। ऊर्जा क्षेत्रमा भएको क्षतिको पुनरुत्थानका लागि ठूलो रकम आवश्यक पर्ने सरकारको प्रारम्भिक आकलन छ।

मन्त्री श्रेष्ठले नेपालको वितरण प्रणाली पुरानो रहेको र विद्युत्को माग तीव्र रूपमा बढेको भन्दै राष्ट्रिय प्रसारण लाइन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन्। उनले अनावश्यक विद्युत् खपत कम गर्न तथा प्रयोग नभएका विद्युतीय उपकरण र मल्टिप्लग बन्द गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

एकातिर नेपाल विद्युत् उत्पादन बढाएर भारत र बंगलादेशमा निर्यात गर्ने चरणमा पुगेको छ भने अर्कोतिर प्राकृतिक विपद्का कारण उत्पादन र प्रसारण पूर्वाधारमै ठूलो क्षति भइरहेको छ। यसले नेपालमा जलविद्युत् उत्पादनसँगै बाढी–पहिरो प्रतिरोधी पूर्वाधार र दीर्घकालीन जोखिम व्यवस्थापन कति आवश्यक छ भन्ने प्रश्न फेरि उठाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्