रसुवा बाढी : कुन जलविद्युत् आयोजनामा कति क्षति ?

insight dainik

काठमाडौं । भोटेकोसी बाढीका कारण रसुवा, नुवाकोटलगायत क्षेत्रमा जलविद्युत् आयोजना, सौर्य आयोजना, प्रसारण लाइन तथा सबस्टेसनमा ठूलो क्षति पुगेको छ। सरकारको ऊर्जा क्षेत्रसम्बन्धी प्रारम्भिक विवरणअनुसार विद्युत् क्षेत्रमा मात्रै करिब ९९ अर्ब ७७ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा करिब १ खर्ब ३५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

बाढीबाट प्रभावित आयोजनामध्ये नेपाल विद्युत् प्राधिकरण तथा यसका सहायक कम्पनीका आयोजनासँगै निजी क्षेत्रका आयोजनामा पनि अर्बौं रुपैयाँको क्षति भएको छ।

प्रमुख जलविद्युत् आयोजनामा भएको क्षति

क्र.सं.

आयोजना

क्षमता

प्रारम्भिक क्षति

१

रसुवागढी जलविद्युत् आयोजना

१११ मेगावाट

२६ अर्ब ६० करोड

२

माथिल्लो त्रिशूली–१

२१६ मेगावाट

१९ अर्ब ५० करोड

३

माथिल्लो त्रिशूली थ्री ‘ए’

६० मेगावाट

१४ अर्ब ४० करोड

४

माथिल्लो त्रिशूली थ्री ‘बी’

३७ मेगावाट

८ अर्ब ८८ करोड

५

चिलिमे जलविद्युत् आयोजना

२२ मेगावाट

५ अर्ब २८ करोड

६

त्रिशूली जलविद्युत् केन्द्र

२४ मेगावाट

५ अर्ब

७

देवीघाट जलविद्युत् केन्द्र

१४.१ मेगावाट

३ अर्ब ३६ करोड

८

रसुवा भोटेकोशी जलविद्युत् आयोजना

१२० मेगावाट

२ अर्ब ४० करोड

९

लाङटाङ खोला जलविद्युत् आयोजना

२० मेगावाट

२ अर्ब

१०

मैलुङ खोला जलविद्युत् आयोजना

५ मेगावाट

५० करोड

११

मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना

१५.६२५ मेगावाट

५० करोड

१२

माथिल्लो मैलुङ खोला आयोजना

१४.३ मेगावाट

२८ करोड ६० लाख

१३

सुपर त्रिशूली

१०० मेगावाट

१५ करोड

सौर्य आयोजनामा पनि ठूलो क्षति

नुवाकोटका २४.३६ मेगावाट क्षमताका पाँचवटा सौर्य आयोजना पनि बाढीबाट प्रभावित भएका छन्। यी आयोजनामा करिब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति अनुमान गरिएको छ।

बाढीले सौर्य प्यानल जडान गरिएको क्षेत्र लगभग पूर्ण रूपमा डुबाएको छ। प्रारम्भिक विवरणअनुसार करिब १५ प्रतिशत प्यानलमा प्रत्यक्ष क्षति नदेखिए पनि ती सञ्चालनमा आउन नसकेको उल्लेख छ।

प्रसारण र सबस्टेसनमा भएको क्षति

बाढीले जलविद्युत् आयोजनाका अतिरिक्त विद्युत् प्रसारण तथा वितरण संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ।

संरचना

प्रारम्भिक क्षति

त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन

२ अर्ब ५० करोड

मातातीर्थ–चिलिमे २२० केभी प्रसारण हब

१ अर्ब १५ करोड

त्रिशूली थ्री ‘बी’ हब–मातातीर्थ १३२ केभी लाइन

६२ करोड

चिलिमे–मातातीर्थ ६६ केभी लाइन

८० करोड

चिलिमे, माथिल्लो त्रिशूली थ्री ‘ए’ र देवीघाट स्विचयार्ड

१ अर्ब १५ करोड

वितरण लाइन तथा विद्युत् पोल

१ अर्ब २० करोड

मातातीर्थ–चिलिमे २२० केभी प्रसारण संरचनाका २४ वटा टावरमा क्षति पुगेको छ भने त्रिशूली थ्री ‘बी’ हबदेखि मातातीर्थसम्मको १३२ केभी प्रसारण लाइनका पाँचवटा टावरमा क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ। चिलिमे–मातातीर्थ ६६ केभी लाइनका पनि पाँच टावर तथा अन्य संरचनामा क्षति पुगेको छ।

१३५.३ मेगावाट विद्युत् उत्पादन प्रसारण अवरोधका कारण बन्द

बाढीका कारण सबै आयोजनाका भौतिक संरचनामा प्रत्यक्ष क्षति पुगेको छैन। कतिपय आयोजना सञ्चालनमा रहे पनि प्रसारण लाइनमा क्षति पुगेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकिएको छ।

सान्जेन खोला (साला सुंगी) ७८ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन खोला ४२.५ मेगावाट गरी कुल १३५.३ मेगावाट क्षमताका आयोजनाको भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नभए पनि प्रसारण अवरोधका कारण उत्पादन तथा आपूर्ति प्रभावित भएको छ।

प्रारम्भिक विवरणअनुसार प्रत्यक्ष क्षति भएका तथा प्रसारण अवरोधमा परेका आयोजनाको कुल क्षमता ४१०.०६ मेगावाट पुगेको छ। यसमध्ये सञ्चालनमा रहेका आयोजनाको क्षमता २७४.७६ मेगावाट र प्रसारण अवरोधका कारण प्रभावित १३५.३ मेगावाट रहेको छ।

सरकारले आयोजना प्रवद्र्धक कम्पनी, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायबाट प्राप्त विवरणका आधारमा प्रारम्भिक क्षति मूल्यांकन गरेको जनाएको छ। बाँध, इन्टेक, हेडवक्र्स, डिस्यान्डर, सुरुङ, विद्युत् गृह, पेनस्टक, स्विचयार्ड, पहुँच सडक, निर्माण क्याम्पलगायत संरचनामा भएको क्षतिलाई मूल्यांकनमा समेटिएको छ।

तर यो प्रारम्भिक विवरण भएकाले स्थलगत विस्तृत अध्ययनपछि क्षतिको रकम थपघट हुन सक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताएका छन्।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्