कुलेखानी जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्दै, आपतकालिन तयारी तीव्र

insight dainik

काठमाडौं । निरन्तर वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेपछि सम्भावित जोखिम नियन्त्रणका लागि तयारी बढाइएको छ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार शुक्रबार बिहान ७ः१५ बजे जलाशयको पानीको सतह १ हजार ५२२ दशमलव ३८ मिटर पुगेको छ। पछिल्लो डेढ घण्टामै पानीको सतह ९ सेन्टिमिटरभन्दा बढी बढेको उनले बताएका छन्।

कुलेखानी जलाशयको उच्च जलसतह १ हजार ५३० मिटर रहेको छ। शुक्रबार बिहानको अवस्थाअनुसार जलाशयको पानी उच्च जलसतहभन्दा करिब ७ दशमलव ६२ मिटर तल रहेको छ। वर्षा निरन्तर भइरहेकाले पानीको सतह अझ बढ्न सक्ने भन्दै सम्बन्धित निकायले निगरानी बढाएका छन्।

पानीको सतह थप बढ्न नदिन कुलेखानी प्रथम जलविद्युत् केन्द्रलाई लोड डिस्प्याच केन्द्रसँगको समन्वयमा पूर्ण क्षमतामा सञ्चालन गरिएको छ। साथै बाँध क्षेत्रमा अनुभवी प्राविधिक तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सम्भावित आपतकालिन अवस्थाका लागि बाँधमा जडान गरिएको डिजेल जेनेरेटरको परीक्षण गरी तयारी अवस्थामा राखिएको छ। पाँच किलोमिटर दूरीसम्म सुनिने साइरन प्रणालीलाई पनि दुरुस्त राखिएको केन्द्रले जनाएको छ।

बाँधको तल्लो तटीय क्षेत्रमा रहेका सिस्नेरी प्रहरी चौकी र इन्द्रसरोवर गाउँपालिकाको नयाँ भवनमा जडान गरिएका साइरन विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। यसका लागि डिजेल जेनेरेटरसमेत जडान गरिएको छ।

आपतकालिन अवस्थामा तत्काल प्रयोग गर्न दुई थान हाते साइरन खानीखेत अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बलको हेभीस्थित टोलीलाई उपलब्ध गराइएको छ।

बाँधको गेट खोल्नुपर्ने अवस्था आएमा जिल्ला विपद् व्यवस्थापन टोली, स्थानीय तह तथा विभिन्न कार्यालयका जिम्मेवार व्यक्तिलाई एसएमएसमार्फत सूचना पठाउने व्यवस्था मिलाइएको छ। तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको मोबाइल नम्बरसमेत संकलन गरिएको केन्द्रले जनाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्