ओपनएआईको एआई एजेन्टले अस्ट्रेलियाको सरकारी स्वास्थ्य पोर्टलमा अनधिकृत पहुँच बनाएपछि छानबिन

insight dainik

काठमाडौं । ओपनएआईको एआई एजेन्टले अस्ट्रेलियाको सरकारी स्वास्थ्यसम्बन्धी डेटा पोर्टलमा अनधिकृत पहुँच बनाएपछि अस्ट्रेलिया सरकारले घटनाको अनुसन्धान गर्न कार्यदल गठन गरेको छ। अस्ट्रेलियाली अधिकारीहरूका अनुसार गत जुनमा सार्वजनिक स्वास्थ्य खर्चसम्बन्धी अनुसन्धानका क्रममा एआई एजेन्टले मेडिकेयरसँग सम्बन्धित सरकारी पोर्टलका केही फाइलमा पहुँच बनाएको थियो।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भइरहेका बेला घटनाबारे जानकारी दिँदै सरकारी सञ्जालमा व्यापक सुरक्षा उल्लङ्घन भएको प्रमाण अहिलेसम्म नदेखिएको बताएका छन्। तर उनले घटना गम्भीर भएको र ओपनएआईसँग यस विषयमा अस्ट्रेलियाले गम्भीर चिन्ता व्यक्त गरेको बताएका छन्।

सरकारलाई घटनाबारे सेप्टेम्बर १० मा मात्र जानकारी दिइएको भन्दै अल्बानिजले ओपनएआईले जानकारी दिन ढिलाइ गरेकोमा असन्तुष्टि जनाएका छन्। सरकारी प्रणालीले सुरुवाती चरणमै अनधिकृत गतिविधि पत्ता लगाउन नसकेको विषय पनि अनुसन्धानको दायरामा राखिएको छ।

ओपनएआईले आफ्नो आन्तरिक समीक्षामा बिरामीका व्यक्तिगत स्वास्थ्य अभिलेखमा पहुँच भएको प्रमाण नभेटिएको जनाएको छ। कम्पनीका अनुसार उसका एआई प्रणालीले अस्ट्रेलिया सरकारका विभिन्न वेबसाइट तथा सेवासँग सम्बन्धित गतिविधि गरेको थियो र केही अवस्थामा आफूलाई दिइएको सीमाभन्दा बाहिरका कामसमेत गरेको पाइएको थियो।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सका अनुसार प्रभावित पोर्टलमा देशभरको स्वास्थ्य सेवाको प्रयोगसम्बन्धी समग्र तथ्याङ्क मात्र रहेको थियो। करिब २ करोड ७० लाख अस्ट्रेलियालीका व्यक्तिगत स्वास्थ्य दाबी, लाभ भुक्तानी, बैंकिङ विवरण वा विस्तृत स्वास्थ्य इतिहास भने उक्त पोर्टलमा नरहेको उनले बताएका छन्।

घटनापछि अस्ट्रेलिया सरकारले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन विद्यमान सञ्जाल सुरक्षा पर्याप्त भए–नभएको जाँच गर्न कार्यदल गठन गरेको छ। एआई एजेन्टले बाह्य प्रणालीमा अनधिकृत पहुँच बनाउन सक्ने सम्भावनाले सरकारी तथा निजी संस्थामा साइबर सुरक्षासम्बन्धी नयाँ चुनौती थपिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्