काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायात व्यवस्थापन र यात्रुको सुरक्षामा विशेष निगरानी गर्ने भएको छ। यातायात व्यवस्था विभागले चाडपर्वका बेला हुने यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई १५ बुँदे निर्देशन जारी गरेको छ।
विभागले यस वर्ष पनि चाडपर्वका लागि अग्रिम टिकट बुकिङको व्यवस्था निरन्तर राख्ने जनाएको छ। तर अग्रिम टिकट बिक्री कहिलेदेखि सुरु गर्ने भन्ने मिति भने अझै तय गरिएको छैन। यस विषयमा सम्बन्धित पक्षसँग थप छलफल गरेर टिकट बुकिङ, रुट अनुमति तथा ठूला सवारीसाधन सञ्चालनसम्बन्धी निर्णय सार्वजनिक गरिने विभागले जनाएको छ।
सम्भव भएसम्म अनलाइनबाट टिकट बिक्रीको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिइएको छ। यात्रुको पहिचान खुल्ने विवरणसहितको टिकट वा यात्रा प्रमाणबिना यात्रु नचढाउन पनि भनिएको छ। टिकट बिक्रीमा संलग्न कर्मचारीलाई अनिवार्य परिचयपत्र उपलब्ध गराउन तथा अनधिकृत काउन्टर र परिचयपत्र वा पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री रोक्न विभागले निर्देशन दिएको छ।
काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको निगरानीका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायत निकायबीच समन्वय गरिने भएको छ।
यात्रुलाई मदिरा सेवन गरेर सार्वजनिक सवारीमा यात्रा नगर्न र आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट खरिद गर्न आग्रह गरिएको छ। लामो दूरीका सवारीमा यात्रुको स्वास्थ्य तथा सवारीको यान्त्रिक अवस्था जाँच गरेर मात्रै सञ्चालन गर्नुपर्नेछ।
लामो दूरीका यात्रुवाहक सवारीमा कम्तीमा दुई जना चालक राखेर पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था पनि गरिएको छ। चालकले मदिरा वा लागुऔषध सेवन गरेको पाइएमा सम्बन्धित यातायात व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ।
चाडपर्वका बेला सडकमा सवारीको चाप बढ्ने भएकाले मुख्य सडक तथा राजमार्गको मर्मत, पहिरो नियन्त्रण र सडक अवस्थाबारे नियमित सूचना प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै आवश्यकताअनुसार थप सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीलाई भनिएको छ।
विभागले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई चालक वा अन्य काममा समेत नियुक्त नगर्न स्पष्ट निर्देशन दिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्