हिमाल पग्लिँदै जानु विश्वकै लागि गम्भीर चेतावनी : गुटेरेस

insight dainik

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको तीव्र परिवर्तनले सम्पूर्ण विश्वलाई गम्भीर जोखिमतर्फ धकेलिरहेको बताएका छन्। उनले नेपालसहित हिमालय क्षेत्रमा तीव्र गतिमा पग्लिरहेका हिमनदीलाई विश्वका लागि ठूलो चेतावनीका रूपमा प्रस्तुत गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको सामान्य बहस उद्घाटन गर्दै मंगलबार गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा आफूले दिएको जलवायु चेतावनी स्मरण गरे। त्यसबेला आफूले हिमनदी तीव्र गतिमा पग्लिरहेको र ‘विश्वको छानो भत्किँदै गएको’ चेतावनी दिएको उनले बताए।

उनका अनुसार त्यतिबेला आफ्नो चेतावनीलाई कतिपयले अतिरञ्जित ठाने पनि पछिल्ला वर्षमा देखिएका प्राकृतिक विपत्तिले जलवायु परिवर्तनको प्रभाव अपेक्षा गरिएभन्दा छिटो र गम्भीर रूपमा देखिन थालेको पुष्टि गरेको छ। उनले नेपालमा हालै भएको भीषण बाढीलाई समेत जलवायु सङ्कटका बढ्दो प्रभावसँग जोडेर विश्व समुदायलाई सचेत गराए।

गुटेरेसले जलवायु सङ्कटलाई वर्तमान र भावी पुस्ताबीचको गम्भीर असन्तुलनका रूपमा व्याख्या गरे। अहिले प्राकृतिक स्रोतको अत्यधिक दोहन गर्ने प्रवृत्तिको मूल्य भावी पुस्ताले चुकाउनुपर्ने अवस्था सिर्जना भइरहेको उनको भनाइ छ।

उनले जलवायु परिवर्तनमा तुलनात्मक रूपमा कम योगदान गरेका समुदाय र विकासशील मुलुकले नै यसको असर बढी भोगिरहेको बताए। विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य जोखिममा रहेको भन्दै उनले हरितगृह ग्यास उत्सर्जन घटाउन तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरे।

महासचिव गुटेरेसले विकासशील मुलुकलाई जलवायु अनुकूलनका लागि थप आर्थिक सहयोग आवश्यक रहेको बताए। विकसित मुलुकले जलवायु वित्त बढाउनुपर्ने र जलवायुजन्य क्षति तथा नोक्सानी बेहोरेका देशलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

उनले जलवायु सङ्कटमा बढी योगदान गर्ने प्रदूषकले बढी जिम्मेवारी लिनुपर्ने भन्दै ‘प्रदूषकले तिर्नुपर्छ’ भन्ने सिद्धान्तलाई व्यवहारमा लागू गर्न आह्वान गरे।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्