भारी वर्षाको चेतावनीपछि यातायात व्यवसायीको अपिल : राति र लामो दूरीको यात्रा नगर्न आग्रह

insight dainik

काठमाडौं । आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावनासँगै बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै यातायात व्यवसायीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार सार्वजनिक सूचना जारी गर्दै असोज ८ गतेदेखि १२ गतेसम्म सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आफ्ना सदस्य संघ, समिति, कम्पनी, प्रालि, पर्यटन तथा सहकारी संस्थालाई अनुरोध गरेको हो।

मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचनालाई आधार बनाउँदै महासंघले भारी वर्षाको सम्भावना रहेकाले सडक र मौसमको अवस्था बुझेर मात्र सवारी सञ्चालन गर्न भनेको छ।

महासंघले यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालन गर्नुअघि सम्बन्धित क्षेत्रको सडकको अवस्था, मौसम तथा सम्भावित जोखिमबारे जानकारी लिन चालक, परिचालक र बुकिङ कर्मचारीलाई निर्देशन दिएको छ। आवश्यक अवस्थामा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यातायात सेवा सञ्चालन गर्न पनि भनिएको छ।

विशेषगरी जोखिमपूर्ण मौसममा अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा गर्नबाट जोगिन महासंघले सर्वसाधारणलाई अपिल गरेको छ। बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले जोखिमयुक्त राजमार्गमा तत्काल उद्धार तथा सडक खुलाउन डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको छ।

नदी तथा खोलाको किनारमा रहेका बस्तीलाई पनि सम्भावित बाढी र पहिरोप्रति सचेत रहन तथा अवस्था गम्भीर भए सुरक्षित स्थानमा सर्न महासंघले आग्रह गरेको छ।

त्यस्तै, सम्बन्धित मन्त्रालय, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।

महासंघले मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपदमा सहयोगका लागि ११५४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ। सर्वसाधारणलाई मौसम पूर्वानुमानका पछिल्ला सूचना निरन्तर हेर्न पनि भनिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्