काठमाडौं । प्रतिकूल मौसमका कारण जोखिम बढ्न सक्ने भन्दै सरकारले असोज ८ गतेदेखि ११ गतेसम्म पदयात्रा, पर्वतारोहण तथा पर्यटकीय क्षेत्रको भ्रमण नगर्न आग्रह गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सूचना जारी गर्दै खराब मौसमको सम्भावित जोखिमलाई ध्यानमा राखेर यस्तो अनुरोध गरेको हो। मन्त्रालयले हाल पदयात्रा तथा पर्वतारोहणमा रहेका नेपाली तथा विदेशी पर्यटकलाई असोज ८ गतेभित्रै नजिकको सुरक्षित स्थानमा पुगेर बस्न आग्रह गरेको छ।
मन्त्रालयका अनुसार यात्रामा रहेका पर्यटकले आफू बसेको स्थान र आफ्नो अवस्थाबारे तत्काल परिवारका सदस्य तथा सम्बन्धित ट्रेकिङ एजेन्सीलाई जानकारी गराउनुपर्नेछ। मौसमका कारण सञ्चार सम्पर्कसमेत प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन मन्त्रालयले विशेष आग्रह गरेको छ।
मौसमको अवस्था र सम्बन्धित सरकारी निकायबाट जारी हुने सूचनालाई निरन्तर हेर्न तथा असोज ११ गतेपछि मात्र अवस्था सामान्य भएमा यात्रा पुनः सुरु गर्न मन्त्रालयले अनुरोध गरेको छ।
यसैगरी, पदयात्रा वा पर्वतारोहणको अनुमति लिइसकेका पर्यटकको यात्रा मिति सार्नुपर्ने अवस्था आएमा सम्बन्धित पर्यटन व्यवसायीले आवश्यक समन्वय र सहजीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ।
सुरक्षित स्थानमा पुग्न नसकेका यात्रुलाई आवश्यक सहयोग गर्न होटल व्यवसायी तथा स्थानीय बासिन्दालाई समेत मन्त्रालयले अपिल गरेको छ। संकटमा परेका पर्यटकलाई मानवीय सहयोग उपलब्ध गराउन ‘अतिथि देवो भव’को भावनाअनुसार सहयोग गर्न आग्रह गरिएको छ।
आन्तरिक हवाई उडानमा पनि मौसमको अवस्थाअनुसार सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने मन्त्रालयले जनाएको छ। आवश्यक परे उद्धार उडानलाई प्राथमिकता दिइने पनि मन्त्रालयको सूचनामा उल्लेख छ।
आपत्कालीन अवस्थामा हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, पर्यटक प्रहरी ११४४ तथा नेपाल पर्यटन बोर्डको ९८४९७६३४९७ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। नजिकको जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्