नेपाली क्रिकेट इतिहासमा आज नयाँ अध्याय थपिँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलोपटक फ्लड लाइटको उज्यालोमा नेपाल र यूएईबीच पहिलो टी-२० अन्तर्राष्ट्रिय शृंखलाको खेल हुँदैछ। साँझ ५ बजे सुरु हुने यो भिडन्तमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्दैछन्।
टोलीमा देखिएको ठूलो परिवर्तनसँगै आजको खेल नेपालका लागि युवा प्रतिभाहरूको परीक्षणको थलो पनि बन्नेछ।
क्यानले टी-२० र एकदिवसीय खेलका लागि भिन्नाभिन्नै संरचना अघि बढाउने नीति स्वरूप यसपटक रोहित पौडेल, आसिफ शेख, सोमपाल कामी, करण केसी र ललित राजवंशीलाई बाहिर राख्दै नयाँ अनुहारहरूलाई अवसर दिएको छ।
उता यूएई पनि केही नयाँ खेलाडीहरूसहित मुहम्मद वासीमको नेतृत्वमा जितको लक्ष्यका साथ मैदान उत्रँदैछ।
नेपाल र यूएईबीचको पछिल्लो प्रतिस्पर्धाको तथ्यांक हेर्ने हो भने नेपाल ६ जितसहित अगाडि छ।
तर, कीर्तिपुरको पिचमा यूएईविरुद्ध जित निकाल्नु नेपालका लागि चुनौतीको विषय हो।
साढे दुई वर्षको अन्तरालपछि पुनः कीर्तिपुरमा हुन लागेको यो भिडन्तले नेपाली क्रिकेट प्रेमीहरूमा थप उत्साह थपेको छ।
आजको खेलमा मैदानमा उत्रने नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल समावेश छन्।