साताको सुरुवातसँगै सेयर बजारमा करेक्सन देखिएको छ। आइतबार नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर २८२५ को विन्दुमा सीमित भएको छ। दिनभरमा ५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सेयर बजारमा सर्किट ब्रेकसम्बन्धी नियममा गरिएको परिमार्जनले आजको कारोबारमा विशेष चर्चा पाएको छ। नेप्सेले १० प्रतिशतको साविकको सीमा बढाएर १५ प्रतिशत कायम गरेपछि आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टमा सकारात्मक सर्किट लागेको छ।
आजको बजार विश्लेषण गर्दा होटल तथा पर्यटन क्षेत्रले मात्र लगानीकर्तालाई राहत दिएको छ। उक्त समूह १ दशमलव ०१ प्रतिशतले बढेको छ। अरु सबै समूहका सूचकहरू घट्दा समग्र बजारमा केही सुस्तता देखिएको छ। बजारमा ३४९ कम्पनीका सेयरहरू सहभागी भएका छन्।