काठमाडौं । नयाँ स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा चिपको सट्टा क्यूआर कोड प्रयोग गर्नुको मुख्य कारण चिप पढ्ने आवश्यक उपकरणको अभाव र व्यवहारिक असहजता रहेको सरकारले स्पष्ट पारेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यसअघि यातायात व्यवस्था विभागले चिप जडित लाइसेन्स छाप्न प्रयोग गर्दै आएको मास प्रिन्टर तथा सम्बन्धित उपकरणहरू आन्दोलनका क्रममा क्षतिग्रस्त भएका थिए । ती उपकरण मर्मत तथा पुनः सञ्चालनमा ल्याउन नसकिएपछि चिप प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको मन्त्रालयको भनाइ छ ।
साथै, चिप भएको कार्ड भए पनि त्यसलाई पढ्न आवश्यक पर्ने कार्ड रिडर मेसिन पर्याप्त मात्रामा उपलब्ध नभएकाले विभिन्न कार्यालय तथा ट्राफिक जाँच बिन्दुहरूमा व्यवहारिक समस्या देखिएको मन्त्रालयले जनाएको छ । यही कारणले तत्काल प्रयोगमा ल्याउन सकिने विकल्पका रूपमा क्यूआर कोड प्रणाली अपनाइएको हो ।
मन्त्रालयका अनुसार क्यूआर कोडमा आधारित नयाँ प्रणालीले इन्टरनेट नभएको अवस्थामा समेत अफलाइन प्रमाणीकरण गर्न सकिने सुविधा दिएको छ । यसबाट ट्राफिक प्रहरी तथा नियामक निकायले सहज रूपमा लाइसेन्स स्क्यान गरी चालकको विवरण तत्काल पुष्टि गर्न सक्छन् ।
सरकारले नयाँ प्रणालीलाई अझ सुरक्षित, व्यावहारिक र प्रविधिमैत्री भएको दाबी गर्दै पुरानो चिप प्रणालीको सीमालाई समाधान गर्ने प्रयास गरिएको जनाएको छ ।