काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको अभियानलाई तीव्रता दिएको छ।
महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले थापाथलीस्थित बागमती किनारको अनुगमन गर्दै खाली गराइएका सार्वजनिक जग्गाको संरक्षणमा जुट्न कर्मचारी प्रशासनलाई निर्देशन दिएकी छिन्।
महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई पत्राचार र समन्वय गरी हाल खाली गराइएका तथा भविष्यमा खाली गरिने क्षेत्रहरूको सुरक्षा व्यवस्था मिलाउन भनेको छ।
सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन महानगरको सार्वजनिक निर्माण विभागले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा तारबार लगाउने कार्य सुरु गर्न लागेको हो।
त्यसैगरी, डंगोलले इचङ्गुस्थित सुकुम्बासी कोलोनीको समेत अवलोकन गर्दै व्यवस्थापनका पक्षमा चासो व्यक्त गरेकी छिन्।
खाली गराइएका क्षेत्रहरू पुनः अतिक्रमणको सिकार नहोऊन् भन्ने उद्देश्यले महानगरले भौतिक घेराबन्दीसहितको सुरक्षा प्रबन्धलाई प्राथमिकतामा राखेको जनाएको छ।
सार्वजनिक जग्गाको संरक्षण र दुरुपयोग रोक्न महानगरपालिकाले आफ्नो नीतिगत अडानलाई थप स्पष्ट पारेको छ।