काठमाडौँ, वैशाख १८ — आज २५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने बिहानैदेखि विभिन्न बौद्ध धार्मिक स्थलहरूमा श्रद्धालुको उल्लेख्य भीड लागेको छ।
विशेषगरी बौद्धनाथ स्तूप र स्वयम्भूनाथ स्तूप क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। ती स्थानहरूमा पूजा, आराधना, दीप प्रज्वलन, ध्यान साधना तथा धार्मिक प्रवचनजस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातुको दर्शनका लागि लामो लाइन लागेको छ।
आजकै दिन सिद्धार्थ गौतम को जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटनाको स्मरण गरिन्छ। उनलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा समेत मानिन्छ। उनका अहिंसा, करुणा र मध्यम मार्गका शिक्षाले मानव जीवनमा शान्ति, सहिष्णुता र सद्भाव फैलाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिन्छ।
देशका अन्य गुम्बा तथा विहारहरूमा पनि भिक्षु तथा भिक्षुणीहरूको नेतृत्वमा शान्तिपाठ, परिक्रमा र पूजाआराधना भइरहेको छ। श्रद्धालुहरूले दीप बाल्दै विश्व शान्ति, समृद्धि र मानव कल्याणको कामना गरिरहेका छन्।
बुद्ध जयन्तीले धार्मिक मात्र होइन, सांस्कृतिक र सामाजिक एकताको सन्देश पनि दिने भएकाले नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरूले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेका छन्।