काठमाडौं । म्यान्मारकी प्रख्यात लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लाई कारागारबाट घरमै नजरबन्द (हाउस अरेस्ट) मा सारिएको छ । ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सन् २०२१ मा भएको म्यान्मार सैन्य कू २०२१ पछि सत्ताच्यूत गरी हिरासतमा राखिएको थियो।
म्यान्मारका सैन्य प्रमुख मिन आङ लाइङ ले सुकीको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिएको बताएका छन्। यस निर्णयलाई मानवअधिकार समूह र अन्तर्राष्ट्रिय समुदायले शंकाको दृष्टिले हेरेका छन्। यसअघि पनि सुकीलाई लामो समयसम्म घरमै नजरबन्दमा राखिएको इतिहास छ।
सुकी सन् २०१५ मा लोकतान्त्रिक निर्वाचनमार्फत सत्तामा पुगेकी थिइन्। उनको नेतृत्वमा म्यान्मारमा केही लोकतान्त्रिक सुधार सुरु भए पनि सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि उनीमाथि विभिन्न आरोप लगाएर जेलमा राखिएको थियो। उनलाई भ्रष्टाचारदेखि राज्यविरुद्धका मुद्दासम्म लगाइएको छ, जसलाई उनका समर्थकहरूले राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।
यसैबीच, सुकीका छोरा किम एरिस ले सरकारको दाबीप्रति अविश्वास व्यक्त गरेका छन्। उनले आमाको अवस्था सार्वजनिक रूपमा पुष्टि नभएको भन्दै सरकारी तस्बिरको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।
विश्लेषकहरूका अनुसार सुकीलाई जेलबाट घरमा सार्नु अन्तर्राष्ट्रिय दबाब कम गर्ने रणनीति हुन सक्छ। तर, वास्तविक स्वतन्त्रता नभएसम्म म्यान्मारमा लोकतन्त्र पुनर्स्थापनाको सम्भावना कमजोर देखिएको छ।