काठमाडौँका नदिनाला छेउका सुकुम्बासी बस्ती खाली गर्ने तयारी, बासिन्दा सामान सार्दै

nepal news portal

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नदी तथा खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने सरकारी तयारीसँगै त्यहाँ बसोबास गर्दै आएका नागरिकहरूले आफ्नो सामान अन्यत्र सार्न थालेका छन्। वैशाख १८ गते बिहान ७ बजेदेखि उपत्यकाभर एकैपटक अवैध संरचना हटाउने निर्णय सार्वजनिक भएपछि प्रभावित बासिन्दाहरूमा त्रास र अन्योल देखिएको छ।

यसअघि महानगरले थापाथली, तिनकुने र मनोहराका केही क्षेत्रमा रहेका बस्तीहरू हटाइसकेको छ। अब बाँकी रहेका स्थानहरूमा पनि क्रमशः हटाउने तयारी भइरहेको महानगरले जनाएको छ। सार्वजनिक स्थल संरक्षण र नदी किनार अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ।

काठमाडौँ प्रशासनले नदी किनारमा रहेका अव्यवस्थित बस्तीहरूका कारण बाढी तथा अन्य विपद्को जोखिम बढेको भन्दै मानवीय सुरक्षाका दृष्टिले बस्ती हटाउन आवश्यक भएको जनाएको छ। साथै सार्वजनिक जग्गाको संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि पनि यस्तो कदम चालिएको बताइएको छ।

तर, प्रभावित बासिन्दाहरूले भने आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती हटाउन लागिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेका छन्। एक समूहले सरकारले उचित पुनर्वास योजना नल्याए सडक आन्दोलन गर्ने चेतावनी दिएको छ।

सरकारको निर्णय र स्थानीयको विरोधबीच उपत्यकामा तनावपूर्ण अवस्था सिर्जना हुने संकेत देखिएको छ। अब आगामी दिनमा प्रशासनले कसरी व्यवस्थापन गर्छ र आन्दोलन कस्तो रूप लिन्छ भन्ने चासो बढेको छ।