बुख्याचा’ उत्कृष्ट लघुचलचित्र घोषित

nepal news portal

काठमाडौँ, वैशाख १७ गते। नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगिता–२०८३ मा ‘बुख्याचा’ उत्कृष्ट लघुचलचित्र घोषित भएको छ। प्रतियोगितामा सहभागी नौ वटा लघुचलचित्रमध्ये ‘बुख्याचा’ ले पहिलो स्थान हासिल गर्दै निर्णायक र दर्शक दुवैको मन जित्न सफल भएको हो।

सुरज पराजुलीको निर्माणमा बनेको ‘बुख्याचा’ ले कर्तव्यपालनाका क्रममा द्वन्द्वग्रस्त क्षेत्रमा खटिएका एक सैनिकले वीरगति प्राप्त गरेपछि उनका परिवारले भोग्नुपरेको पीडालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको छ। विशेष गरी एक नाबालक छोरा र उनकी आमाले भोगेको अभिभावक वियोग, भावनात्मक संघर्ष र जीवनसँग जुध्ने कथा चलचित्रको मुख्य विषय बनेको छ।

चलचित्रमा सैनिक बुबा घर छोडेर कर्तव्यमा हिँड्ने क्रममा आफ्ना सन्तानसँगको सम्बन्धलाई प्रतीकात्मक रूपमा देखाइएको छ। बालकले खेतमा बनाइएको ‘बुख्याचा’ (काग भगाउने पुतली) सँग संवाद गर्दै बाबुसँगको सम्बन्ध जोगाउने प्रयास गर्छ। बुख्याचाको खल्तीमा चिठी राख्दै बालकले आफ्नो भावना व्यक्त गर्ने दृश्यहरूले दर्शकलाई गहिरो भावनामा डुबाउँछन्।

त्यस्तै प्रतियोगितामा देवशङ्कर पौडेलद्वारा निर्मित ‘अमर कर्तव्य’ दोस्रो स्थानमा रह्यो भने राम नरेशको ‘अडान’ तेस्रो स्थानमा चयन भएको छ। विजेता तथा उत्कृष्ट प्रतियोगीलाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

यसै अवसरमा आयोजित फोटो प्रतियोगितामा शार्दूलजङ्ग गुल्म प्रथम, सैनिक कल्याणकारी निर्देशनालय दोस्रो र प्रतिविद्रोह तथा जङ्गल शिक्षालय तेस्रो भएका छन्। साथै, सैनिक पत्रिका ‘सिपाही’ का उत्कृष्ट लेखकहरूलाई पनि सम्मान गरिएको थियो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २४औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सेना र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।