काठमाडौँ । नेपाल पत्रकार महासङ्घले 'शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन' भन्ने मूल नाराका साथ आज भव्य पदयात्राको आयोजना गरेको छ।
माइतीघर मण्डलाबाट सुरु भएको उक्त र्यालीमा सञ्चारकर्मी, मानव अधिकारकर्मी र कानुनी क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो।
नयाँ बानेश्वरमा आयोजित कोणसभामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रताको पछिल्लो अवस्थाबारेको वार्षिक प्रतिवेदन सार्वजनिक गरे। उनले अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार एकअर्काका पूरक रहेको चर्चा गर्दै सञ्चार क्षेत्रको सुरक्षामा आयोग सदैव सचेत रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको हकलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिइन्। त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रेसमाथि हुने कुनै पनि अड्चन हटाउन कानुनी उपचारका लागि बार सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे। यो दिवसले प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धनका लागि सबै सरोकारवाला निकायलाई एकजुट हुन आह्वान गरेको छ।