नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप लिग-२ मा ओमानविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जितका लागि २ सय ५७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने साहसिक निर्णय गरेको नेपालले आफ्नो इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर २ सय ५६ रन बनाउन सफल भयो।
खेलको मुख्य आकर्षण आसिफ शेखको ९४ रन र अर्जुन कुमालको ४८ रनको धैर्यपूर्ण इनिङ रह्यो, जसले टोलीलाई सुरुवाती दबाबबाट बाहिर निकालेको थियो।
ब्याटिङमा जति आसिफ र अर्जुनको चर्चा छ, त्यति नै आरिफ शेखको आक्रामक इनिङले ओमानका बलरको लय बिगारिदिएको छ।
आरिफले २४ बलमै ४३ रन जोडेर नेपालको स्कोरलाई उकासेका थिए। दीपेन्द्र सिंह ऐरीले पनि ३३ रनको महत्वपूर्ण योगदान दिए पनि अन्य ब्याटरले भने क्रिजमा टिकेर दोहोरो अंक समेत जोड्न सकेनन्।
बलिङतर्फ ओमानका नदिम खानले सर्वाधिक ३ विकेट लिएर नेपाललाई सस्तैमा समेट्ने प्रयास गरे पनि नेपाली ब्याटरको जुझारु प्रदर्शनले ओमानले कठिन लक्ष्य पाएको छ।