चीनको हूनान प्रान्तस्थित लिउयाङ सहरमा रहेको एक आतिशबाजी कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार सोमबार दिउँसो भएको उक्त विस्फोटपछि व्यापक उद्धार तथा राहत कार्य सञ्चालन गरिएको थियो।
विस्फोटपछि कारखाना वरपरको करिब ३ किलोमिटर क्षेत्र खाली गराइएको थियो। घटनास्थलमा १५०० भन्दा बढी उद्धारकर्मी, खोजी कुकुर, ड्रोन तथा रोबोट परिचालन गरिएको थियो। भग्नावशेषमा पुरिएका सात जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ भने कारखानाका जिम्मेवार व्यक्तिहरूमाथि नियन्त्रणात्मक कदम चालिएको बताइएको छ। उद्धार कार्यका क्रममा कारखानाभित्र रहेका बारुद भण्डारण स्थलहरू अझै जोखिमपूर्ण अवस्थामा रहेकोले थप सतर्कता अपनाइएको थियो।
विस्फोट यति शक्तिशाली थियो कि नजिकैका घरहरूको झ्याल फुटेका, ढोकाहरू बाङ्गिएका र संरचनामा क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन्। घाइतेमध्ये अधिकांशको उमेर २० देखि ६० वर्षबीच रहेको छ र धेरैलाई उडेको भग्नावशेषले चोट लागेको छ।
चीनका राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजीमा सबै प्रयास केन्द्रित गर्न निर्देशन दिएका छन्। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि आग्रह गरेका छन्।
स्थानीय प्रशासनले विस्फोटपछि वरपरको पानी र हावाको गुणस्तर परीक्षण गरिरहेको जनाएको छ, जसमा हालसम्म कुनै असामान्य अवस्था देखिएको छैन। लिउयाङ सहर विश्वकै प्रमुख आतिशबाजी उत्पादन केन्द्र मानिन्छ, जहाँ यस्ता दुर्घटनाहरू बेला–बेला हुने गरेका ।