नेपालको मौसम अहिले 'युद्धस्तर' मा बिग्रिएको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार ठुलो वर्षा र हावाहुरीको चक्र अहिले पूर्वतर्फ तिव्र गतिमा बढिरहेको छ।
काठमाडौँ उपत्यकासहित बागमती र मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा मेघगर्जन र चट्याङले आकाश थर्काउन थालिसकेको छ। कर्णाली र लुम्बिनीका विभिन्न भेगमा हुरीको प्रहार जारी रहँदा राजधानीमा पनि यसको प्रभाव विस्तार भइरहेको छ।
मौसमविद् अधिकारीले स्पष्ट पारेका छन् कि यो वर्षाको प्रणाली सुदूरपश्चिमबाट फैलिँदै आएको हो र यसको प्रभाव हप्ताभरि नै रहने देखिएको छ।
आज बेलुकीपख वर्षामा केही कमी आए पनि हप्ताभरि नै मौसम सक्रिय रहने भएकाले ढुक्क हुने अवस्था छैन।
तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्र र दक्षिणी भू–भागमा फैलिएको रेखाले गर्दा देशभरिको आकाश अस्थिर बनेको छ।
भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षाको चेतावनी दिइएको छ भने बुधबार पनि तराई र पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हुरीबतास र चट्याङको उच्च जोखिम रहेकाले सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न विभागले आम नागरिकलाई सचेत र सतर्क रहन जोडदार अपिल गरेको छ।
आगामी केही दिनसम्म घरबाहिर निस्कँदा वा यात्रा गर्दा मौसमको अवस्था हेरेर मात्र अघि बढ्न प्रशासनले सचेत गराएको छ।