काठमाडौंमा शुक्रबार बिहानैदेखि विभिन्न स्थानमा अनधिकृत बस्ती हटाउने अभियान तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा काठमाडौं महानगरपालिकाले प्रहरी तथा नगरप्रहरीको सहकार्यमा बल्खु, वंशीघाट लगायतका क्षेत्रमा डोजर चलाएको हो।
महानगरपालिका वडा नम्बर १४ अन्तर्गत पर्ने बल्खु क्षेत्रमा बिहानैदेखि घरटहरा भत्काउने काम सुरु गरिएको थियो। डोजर चल्न थालेपछि स्थानीय बासिन्दा हतारहतार आफ्ना सामान सुरक्षित स्थानतर्फ सार्दै गरेको दृश्य देखिएको छ भने केही बासिन्दा आफ्नो बसोबास भत्किँदै गरेको अवस्था हेर्न बाध्य भएका छन्। यस्तै, वडा नम्बर ११ को वंशीघाट क्षेत्रमा पनि समानान्तर रूपमा डोजर परिचालन गरिएको छ।
प्रशासनका अनुसार नदी किनार, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्ती हटाउने उद्देश्यले एकैपटक विभिन्न क्षेत्रमा अभियान सञ्चालन गरिएको हो। बल्खु र वंशीघाटसँगै वडा नम्बर १५ को स्वयम्भू, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा र रानीबारी क्षेत्रमा समेत डोजर चलाउने तयारी गरिएको छ।
यसअघि नै प्रशासनले सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि बस्ती खाली गर्न आग्रह गरेको थियो। सोही सूचनापछि केही स्थानका बासिन्दा अघिल्लो दिनदेखि नै घर छाड्न थालेका थिए।
सरकारले यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीमा पनि डोजर अभियान सञ्चालन गरिसकेको छ। अहिले दोस्रो चरण अन्तर्गत बाँकी क्षेत्रहरूमा कारबाही अघि बढाइएको प्रशासनले जनाएको छ।