पेट्रोल र डिजेलको मूल्यमा कटौती, खाना पकाउने ग्यासको मूल्य भने वृद्धि

nepal news portal

काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य समायोजन गरेको छ। निगमको पछिल्लो निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने वृद्धि गरिएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको छ। यो समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ। हवाई इन्धनतर्फ आन्तरिकमा प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ४६ डलरले वृद्धि गरिएको छ।

यता, आम उपभोक्तालाई मार पर्ने गरी खाना पकाउने ग्यासको मूल्यमा भने भारी वृद्धि गरिएको छ। अब पूर्ण सिलिन्डर ग्यासको मूल्य २,१६० रुपैयाँ पुगेको छ भने आधा सिलिन्डरको १,०८० रुपैयाँ तोकिएको छ। यसअघि पूर्ण सिलिन्डरको मूल्य २,०१० रुपैयाँ कायम थियो। भारतीय आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणालीका कारण यो फेरबदल गर्नुपरेको निगमले जनाएको छ।