नेपालको सम्पदा स्वदेशमै: अमेरिका पुगेको बुद्ध मूर्ति बुद्ध जयन्तीमा फिर्ता

nepal news portal

काठमाडौँ — काठमाडौँको ओम बहालस्थित न्छुँे बहा (बज्रधातु विहार) बाट वर्षौँअघि चोरी भई अमेरिका पुगेको प्राचीन बुद्ध मूर्ति हिजो बुद्ध जयन्तीको पावन अवसर पारेर एक भव्य समारोहका बीच पुनः आफ्नै मूल स्थानमा पुनर्स्थापना गरिएको छ।

यस ऐतिहासिक अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी विशेष दूत सर्जियो गोरको विशेष उपस्थिति रहेको थियो, जसले यस घटनालाई अन्तर्राष्ट्रिय महत्व प्रदान गरेको छ।

न्युयोर्कस्थित ‘तिब्बत हाउस कलेक्सन’ बाट फिर्ता ल्याइएको उक्त पुरातात्विक मूर्तिको पुनर्स्थापनाले नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सम्पदा संरक्षणमा नयाँ आयाम थपेको छ।

कार्यक्रममा विशेष दूत सर्जियो गोरले नेपालको समृद्ध सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै यस्ता ऐतिहासिक र धार्मिक महत्वका वस्तुहरू आफ्नै मूल स्थानमै रहनुपर्नेमा जोड दिनुभयो। उहाँको उपस्थितिले नेपालबाट चोरी भएका सम्पदाहरू फिर्ता ल्याउने अभियानलाई अन्तर्राष्ट्रिय स्तरमै महत्व प्राप्त भएको स्पष्ट पारेको छ।

काठमाडौँ महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनीता डंगोल र राष्ट्रिय संग्रहालय छाउनीकी प्रमुख अरुणा नकर्मीले संयुक्त रूपमा उक्त बुद्ध मूर्ति स्थानीय गुठीयारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

हनुमानढोका दरबार क्षेत्रबाट सुरु भएको भव्य शोभायात्रामा सम्पदा अभियन्ताहरू गणपति लाल श्रेष्ठ, संजय अधिकारी, वडा अध्यक्ष मचाराजा महर्जन लगायतले पहलकदमी संयोजनको नेतृत्त्व लियको थियो जसमा सयौँ स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम मूर्तिको संरक्षण र सुरक्षाको जिम्मा अब स्थानीय न्छुँे बहा गुठीले लिने गरी औपचारिक सम्झौता गरिएको छ। यसले सम्पदाको दीर्घकालीन संरक्षणमा समुदायको भूमिका थप सुदृढ बनाउने विश्वास गरिएको छ।

यस महत्वपूर्ण कार्यमा काठमाडौँ महानगरपालिकाको पहलमा पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डा, राष्ट्रिय संग्रहालय छाउनी, काठमाडौँ महानगरको सम्पदा तथा पर्यटन विभाग, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम लगायतका निकायहरूको मुख्य संयोजन रहेको थियो।

त्यसैगरी, अमेरिकी राजदूतावास नेपाल, गुठी संस्थान, विभिन्न सुरक्षा निकाय, महानगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय स्काउट तथा अन्य संघ–संस्थाहरूको सक्रिय सहकार्य रहेको थियो।

कानूनी तथा प्रक्रियागत सहयोग प्राचीन स्मारक संरक्षण अध्ययन समाज, प्रकाश मणि शर्मा एकेडेमी फर पब्लिक इन्ट्रेस्ट ल र नमुना फाउन्डेसनले प्रदान गरेका थिए भने सम्बन्धित न्हूछेंवहाः क्वापद्यः गुठी परिवारले मूर्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

नेपालबाट हराएका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू खोजेर पुनः समुदायमै फर्काउने यस अभियानले विश्वभरका कला संकलकहरूलाई स्पष्ट सन्देश दिएको छ—सम्पदा आफ्नो मौलिक सन्दर्भमै अर्थपूर्ण हुन्छ।

अमेरिकी विशेष दूतको सहभागिताले आगामी दिनमा अमेरिकामा रहेका अन्य नेपाली मूर्तिहरू फिर्ता ल्याउने प्रक्रिया अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।