काभ्रेपलाञ्चोक — अविरल वर्षाका कारण उर्लिएको रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने बाढीमै फसेका ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार गरिएको छ। जोखिमपूर्ण अवस्थामा जबर्जस्ती गाडी चलाएर यात्रुको ज्यान खतरा पार्ने पाँच चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार नमोबुद्ध नगरपालिका–स्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्ड सोमबार साँझदेखि बन्द गरिएको हो। रोशी खोलामा आएको तीव्र बाढीका कारण सवारी आवागमन रोकिएको र अर्को सूचना नभएसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
यसैबीच, पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका पाँच वटा माइक्रोबस मंगलबार साँझ रोशी गाउँपालिका–७ घुमाउने वेशी क्षेत्रमा खोलामा फसेका थिए। ती सवारीमा रहेका ८९ यात्रुलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले राति करिब १ बजे उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सुरक्षा निकायको निर्देशन अवज्ञा गर्दै बाढीमा गाडी हाल्ने चालकहरूलाई नियन्त्रणमा लिइएको हो। लापरवाहीपूर्ण ढंगले सवारी चलाएर यात्रुको ज्यान र सम्पत्तिमा जोखिम पुर्याएको आरोपमा उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको छ।
बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा–नेपालथोक खण्डमा पटक–पटक अस्थायी डाइभर्सन बग्दै आएको छ। यस वर्ष मात्रै करिब चार किलोमिटर सडक प्रभावित भएको प्रहरीले जनाएको छ। गत वर्षको बाढीपहिरोले पनि सो क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।
हाल बाढी नघटेपछि राजमार्ग अझै सञ्चालनमा आएको छैन। पानीको बहाव घटेपछि मात्रै सडक मर्मत गरी यातायात खुलाउने तयारी रहेको प्रहरीले जनाएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक जोखिम नलिन अनुरोध गरिएको छ।