डोजर आतंक: लालपुर्जा भएका घरधनी पनि त्रसित

nepal news portal

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने नाममा चलाइएको डोजर अभियानले यतिबेला व्यापक त्रास सिर्जना गरेको छ। विशेषगरी नदी किनार र सार्वजनिक जमिन आसपास बसोबास गर्ने नागरिक मात्र होइन, वैधानिक रूपमा लालपुर्जा भएका रैथाने बासिन्दासमेत डर र अन्योलमा परेका छन्।

सरकारले सुकुम्बासी व्यवस्थापनका लागि भन्दै विभिन्न क्षेत्रमा डोजर चलाइरहेको छ। तर सुकुम्बासीको स्पष्ट पहिचान नगरी एकैपटक बस्ती हटाउन खोज्दा वास्तविक घरधनीहरू समेत प्रभावित हुने अवस्था देखिएको छ। यसले स्थानीयमा ‘हुलमुलमा आफ्नो घर पनि भत्काइने हो कि’ भन्ने भय बढाएको छ।

धोबीखोला तथा बागमती नदी किनार आसपासका क्षेत्रमा पछिल्ला दिनहरूमा डोजर परिचालन तीव्र बनेपछि बासिन्दाले आफ्ना घरका भित्तामा लालपुर्जा टाँस्ने क्रम बढेको छ। आफू वैधानिक जग्गाधनी भएको प्रमाण देखाएर घर जोगाउने प्रयासस्वरूप यस्तो गरिएको स्थानीय बताउँछन्।

स्थानीय बासिन्दाहरूका अनुसार कुनै पूर्वसूचना बिना डोजर आउने र तत्काल घर खाली गर्न दबाब दिने क्रमले झनै आतंक बढाएको छ। “हामीसँग लालपुर्जा छ, तर पनि ढुक्क छैनौं,” एक स्थानीयले गुनासो गरे।

सरकारले भने अव्यवस्थित बस्ती हटाएर व्यवस्थित बसोबासको योजना अघि बढाइएको दाबी गरेको छ। तर स्पष्ट मापदण्ड, उचित क्षतिपूर्ति र पुनर्बासको सुनिश्चितता बिना गरिने यस्तो अभियानले सामाजिक तनाव बढाउने संकेत देखिएको छ।

विज्ञहरूले पनि सुकुम्बासी समस्या समाधान दीर्घकालीन योजना र संवेदनशील ढंगबाट गर्नुपर्ने बताउँदै हतारमा गरिने डोजर अभियानले समस्या झन् जटिल बन्न सक्ने चेतावनी दिएका छन्।