काठमाडौं महानगरपालिकाले इन्धन अभावको समस्या समाधान गर्न कर्मचारीका लागि ‘कार पुलिङ’ अर्थात् सवारी साधन आलोपालो प्रयोग गर्ने प्रणाली लागू गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार विश्वव्यापी इन्धन अभावका कारण दीर्घकालीन असर पर्न सक्ने भएकाले यस्तो कदम चालिएको हो। उनले आवश्यक सेवा सञ्चालनमा असर नपरोस् भन्ने उद्देश्यले इन्धन खपत घटाउनु अपरिहार्य बनेको बताइन्।
महानगरपालिकाको ४८ औं कार्यपालिका बैठकले यसअघि नै इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको थियो। त्यसको प्रभावकारी कार्यान्वयनका लागि अब कर्मचारीहरूलाई समूहमा विभाजन गरिएको छ, जसमा एउटै क्षेत्रबाट आउने-जाने कर्मचारीहरू समेटिएका छन्। ती समूहका सदस्यहरूले आफ्ना सवारी साधन पालैपालो प्रयोग गर्दै सहकर्मीहरूलाई पनि ल्याउने-लाने व्यवस्था मिलाउनेछन्।
यस व्यवस्थाले कार्यालयमा प्रयोग हुने सवारी साधनको संख्या घटाउने र इन्धनको खपत कम गर्ने अपेक्षा गरिएको छ। साथै, यो कदमले वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। महानगरले आगामी दिनमा सम्भावित इन्धन संकटलाई मध्यनजर गर्दै यस्ता उपायहरूलाई अझ प्रभावकारी रूपमा लागू गर्ने जनाएको छ।