तमिलनाडु निर्वाचनमा अभिनेता जोसेफ विजयको दल अग्रता, सत्तारुढ दल पछि

nepal news portal

भारतको तमिलनाडु राज्यमा जारी विधानसभा निर्वाचनको मतगणनामा चर्चित दक्षिण भारतीय अभिनेता जोसेफ विजयको राजनीतिक दल अप्रत्याशित रूपमा अग्रस्थानमा देखिएको छ। प्रारम्भिक मतपरिणामअनुसार विजयको दल तमिलगा वेत्री कषगमले सत्तारुढ द्रविड मुनेत्र कषगमलाई पछि पार्दै उल्लेखनीय अग्रता बनाएको छ।

उपलब्ध विवरणअनुसार तमिलगा वेत्री कषगम करिब १०५ सिटमा अगाडि रहेको छ भने मुख्यमन्त्री एम. के. स्टालिन नेतृत्वको द्रविड मुनेत्र कषगम करिब ५१ सिटमा सीमित देखिएको छ। त्यस्तै, विपक्षी अन्ना द्रविड मुनेत्र कषगम पनि द्रविड मुनेत्र कषगमभन्दा अगाडि रहँदै ७८ सिटमा अग्रता लिइरहेको छ।

जोसेफ विजय स्वयं पनि आफ्नो निर्वाचन क्षेत्रमा करिब तीन हजार मतले अघि रहेका छन्। ‘थलापथी’ नामले चिनिने उनी सिनेमा क्षेत्रबाट राजनीतिमा प्रवेश गरेको छोटो समयमै ठूलो जनसमर्थन जुटाउन सफल भएका छन्। सन् २०२४ मा औपचारिक रूपमा राजनीति सुरु गरेका उनले २०२६ को निर्वाचनलाई लक्षित गर्दै सक्रिय अभियान सञ्चालन गरेका थिए।

उनको राजनीतिक यात्रामा केही विवाद पनि देखिएका छन्। गत वर्ष पार्टीको एक कार्यक्रममा भीडभाडका कारण भएको दुर्घटनामा ३९ जनाको मृत्यु भएपछि उनी चर्चामा आएका थिए। उक्त घटनाप्रति दुःख व्यक्त गर्दै उनले मृतक परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।

सिनेमा क्षेत्रमा घिल्ली, काठी, मर्सल र बिगिल जस्ता सफल चलचित्र दिएका विजयले राजनीतिमा सामाजिक न्याय, धर्मनिरपेक्षता तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले विभाजनकारी राजनीतिविरुद्ध उभिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यसपटकको मतपरिणामले तमिलनाडुको राजनीतिमा नयाँ शक्ति उदाएको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।