अटलान्टिक क्रुज जहाजमा हान्टाभाइरस आशंका, ३ जनाको मृत्यु

nepal news portal

अटलान्टिक महासागरमा सञ्चालित MV Hondius नामक क्रुज जहाजमा हान्टाभाइरस संक्रमणको आशंका गरिएको छ। World Health Organization (डब्लुएचओ) का अनुसार हालसम्म ६ जनामा संक्रमणको शंका गरिएको छ, जसमध्ये १ जनामा प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भइसकेको छ।

डब्लुएचओले सार्वजनिक गरेको विवरणअनुसार संक्रमितमध्ये एकजना गम्भीर अवस्थामा दक्षिण अफ्रिकामा उपचाररत छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र संक्रमण कसरी फैलियो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ।

हान्टाभाइरस सामान्यतया मुसा र भ्यागुताजस्ता कृन्तक जनावरको दिसा वा पिसाबसँग सम्पर्क हुँदा मानिसमा सर्ने गर्दछ। यसले गम्भीर फोक्सोसम्बन्धी रोग (ह्यान्टाभाइरस पल्मोनरी सिन्ड्रोम) निम्त्याउन सक्छ, जुन कहिलेकाहीँ घातक पनि हुन सक्छ। यद्यपि यो संक्रमण दुर्लभ मानिन्छ, केही अवस्थामा मानिसबाट मानिसमा सर्ने सम्भावना पनि रहने डब्लुएचओले जनाएको छ।

उक्त जहाजमा करिब १५० पर्यटक सवार रहेको बताइएको छ। यो जहाज अर्जेन्टिनाबाट यात्रा सुरु गरी एन्टार्कटिका, फकल्याण्ड टापु हुँदै स्पेनको क्यानरी टापुसम्म पुग्ने योजना रहेको थियो।

दक्षिण अफ्रिकी स्वास्थ्य विभागले घटनापछि सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्न ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरेको जनाएको छ। विशेषगरी जोहानेसबर्ग क्षेत्रमा संक्रमित यात्रुहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई निगरानीमा राखिएको छ।

हालसम्म हान्टाभाइरसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन। तर समयमै उपचार र स्वास्थ्य सेवा पाएमा संक्रमितको ज्यान जोगाउने सम्भावना बढ्ने विज्ञहरू बताउँछन्।