काठमाडौं, वैशाख १७ — चिन सरकारले काठमाडौ चक्रपथको दोस्रो चरण विस्तारका लागि करिब ११ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यस सम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको हो।
सम्झौताअनुसार अब चक्रपथको कलंकीदेखि बसुन्धरा खण्डसम्मको सडक विस्तार तथा स्तरोन्नति गरिनेछ। यसअघि पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कालंकीसम्मको सडक विस्तार कार्य सम्पन्न भइसकेको छ, जसले राजधानीको यातायात व्यवस्थापनमा केही सहजता ल्याएको थियो।
कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले परियोजनालाई समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले आयोजनामा देखिन सक्ने सम्भावित समस्या समाधान गर्न सरकार सक्रिय रूपमा लाग्ने उल्लेख गरे। साथै, उत्तर–दक्षिण जोड्ने पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे।
त्यस्तै, नेपालका लागि चिनियाँ राजदूतले नेपालमा लगानीको वातावरण सुधार भएमा चिनियाँ लगानीकर्ताहरू थप उत्साहित हुने बताए। उनले पूर्वाधार विकासका क्षेत्रमा दुई देशबीचको सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।
चक्रपथ विस्तार परियोजना काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापन, यात्रा समय घटाउने तथा सडक सुरक्षामा सुधार ल्याउने लक्ष्यसहित अघि बढाइएको हो। विशेषगरी कलंकी–बसुन्धरा खण्डमा विस्तार भएपछि दैनिक आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।
सरकारले यो परियोजनालाई राजधानीको दीर्घकालीन यातायात सुधार योजनाको महत्वपूर्ण हिस्सा मानेको छ। निर्माण कार्य सुरु भएपछि स्थानीय बासिन्दा तथा सवारी चालकलाई केही अस्थायी असुविधा भए पनि अन्ततः दीर्घकालीन लाभ प्राप्त हुने विश्वास गरिएको छ।