नेपाल सरकारका विभिन्न मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार धेरै मन्त्रीहरू करोडौँ मूल्यका जग्गा, सुन, सेयर र नगद मौज्दातका मालिक रहेको देखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री शाहको नाममा १ करोड ४६ लाख रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख छ, जसको स्रोत सामाजिक सञ्जालबाट आम्दानी भएको जनाइएको छ। उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी तथा हिराका गहना पैत्रिक रूपमा रहेको छ। बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा, आमाको नाममा काठमाडौंमा ५ आना तथा धनुषामा १.२ विघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
अर्थमन्त्री वाग्लेसँग ३ करोड ५५ लाख रुपैयाँ ऋण रहेको छ भने ललितपुरको सानेपा र अन्य स्थानमा करोडौँ मूल्यका अपार्टमेन्टहरू छन्। काभ्रे र तनहुँमा समेत घर तथा सम्पत्ति रहेको छ। बैंकमा १ करोड ९० लाख रुपैयाँ मौज्दात, विभिन्न कम्पनीमा ४ करोडभन्दा बढीको सेयर लगानी तथा ४५ तोला सुन रहेको छ। साथै उनले ९४ लाख रुपैयाँमा ‘सुबारु एक्सभी’ गाडी खरिद गरेका छन् र काठमाडौं, चितवन तथा तनहुँमा जग्गा पनि रहेको छ।
गृहमन्त्री सुधन गुरुङ
गुरुङसँग ४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर रहेको छ, जसमा २ करोड ७४ लाख धितोपत्र बजारमा लगानी गरिएको छ। धनकुटामा आफ्नै नाममा १९ रोपनी १५ आना जग्गा, चितवनमा बुबाको नाममा ३० कठ्ठा तथा गोरखामा बाजेको नाममा २२१ रोपनी जग्गा रहेको छ। बैंक खातामा करिब ६१ लाख रुपैयाँ मौज्दात छ भने ८९ तोला सुन र ६ किलो चाँदी पैत्रिक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल
खनालसँग टोखामा ६ आना जग्गा, ९४ लाख रुपैयाँको गाडी, २२ तोला सुन, २५ तोला चाँदी र बैंकमा करिब २३ लाख रुपैयाँ नगद रहेको छ। साथै विभिन्न कम्पनीमा ७७१९ कित्ता सेयर लगानी रहेको उल्लेख छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ
श्रेष्ठसँग काठमाडौंमा ६ आना जग्गा, १५/१५ तोला सुन र चाँदी तथा ७८ लाख ९८ हजार रुपैयाँ मौज्दात रहेको छ। उनले बुबाबाट लिएको २० लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल
लम्सालसँग रुपन्देहीमा घरसहितको जग्गा, नवलपरासीमा १० कट्ठा १५ धुर, स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको छ। ३० तोला सुन, ५० तोला चाँदी र बैंकमा ९० लाख रुपैयाँ मौज्दात रहेको छ।
महिला, बालबालिका मन्त्री सीता वादी
वादीसँग काठमाडौं, सुर्खेत र नुवाकोटमा जग्गा रहेको छ। १८ तोला सुन, १५ तोला चाँदी र बैंकमा करिब १५ लाख रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ।
शिक्षामन्त्री सस्मित पोखरेल
पोखरेल परिवारको नाममा काठमाडौं, ललितपुर र अन्य स्थानमा करोडौँ मूल्यका घर तथा जग्गा छन्। मुलपानी, गोकर्णेश्वर लगायत क्षेत्रमा महँगो सम्पत्ति रहेको छ भने आफन्तहरूको नाममा समेत ठूलो परिमाणमा जग्गा रहेको उल्लेख छ।
श्रममन्त्री रामजी यादव
यादवसँग बैंकमा ७० लाखभन्दा बढी रकम, ८० तोला सुन, १५० तोला चाँदी तथा राजविराजमा पैत्रिक घर जग्गा रहेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादव
यादवसँग काठमाडौंमा तीनतले घर, महोत्तरीका विभिन्न स्थानमा ठूलो जग्गा, १८० तोला सुन, २ किलो चाँदी तथा करिब ३ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको छ। परिवारका नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको छ भने जग्गा भाडाबाट मासिक ९० हजार रुपैयाँ आम्दानी भइरहेको छ।
कृषिमन्त्री गीता चौधरी
चौधरीसँग २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर, १ लाख २६ हजार रुपैयाँ बैंक मौज्दात तथा २ वटा बाख्रा र १० वटा कुखुरा रहेको उल्लेख छ।
सञ्चारमन्त्री बिक्रम तिमल्सिना
तिमल्सिनाको परिवारको नाममा नागर्जुनमा घर तथा जग्गा रहेको छ। बैंकमा १० लाखभन्दा बढी रकम मौज्दात छ भने ४८ लाख रुपैयाँ अरूलाई ऋण दिएको विवरणमा उल्लेख छ।
पर्यटनमन्त्री खडक राज पौडेल
पौडेलसँग १ करोड ४० लाख रुपैयाँ ऋण रहेको छ भने बैंकमा २२ लाखभन्दा बढी रकम छ। २ करोडको पारिवारिक फार्म हाउस र पोखरामा २ करोड ६० लाखको घर रहेको छ।
कानुनमन्त्री सोबिता गौतम
गौतमको परिवारको नाममा काठमाडौं र भरतपुरमा घर रहेको छ भने बैंकमा १० लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ।
संघीय मामिला मन्त्री प्रतिभा रावल
रावलसँग २० लाख रुपैयाँ ऋण रहेको छ भने बैंकमा करिब २४ लाख ७८ हजार रुपैयाँ मौज्दात छ। श्रीमानको नाममा ४४ लाख रुपैयाँको गाडी रहेको उल्लेख छ।
श्रोत : https://tinyurl.com/mvpyfmr5 pdf मा उपलब्ध छ ।
समग्रमा सार्वजनिक गरिएको विवरणले अधिकांश मन्त्रीहरू करोडौँको सम्पत्तिका मालिक रहेको देखाएको छ, जसमा जग्गा, सुन, सेयर र नगद लगानी प्रमुख रूपमा देखिन्छन्।