काठमाडौँको भेडासिंह क्षेत्रमा रहेको एक चाँदी पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास असफल भएको छ। वैशाख १७ गते दिउँसो करिब २ बजेतिर दुई जना युवकले पसलमा प्रवेश गरी लुटपाट गर्न खोजेका थिए। उनीहरूले पसल सञ्चालिका युवतीलाई पेस्तोल देखाउँदै धम्क्याएर पसल कब्जामा लिन प्रयास गरेका थिए।
प्राप्त विवरणअनुसार सुरुमा एक जना युवक पसलभित्र छिरेर अवस्थाको अवलोकन गरेका थिए भने केही समयपछि अर्को व्यक्ति पनि पसलमा प्रवेश गरेका थिए। त्यसपछि उनीहरूले सटर झारेर लुटपाट गर्ने योजना बनाएका थिए। तर, उनीहरूको योजना त्यति सहज भने बनेन। पसलमा एक्लै रहेकी युवतीले साहस देखाउँदै प्रतिकार गरिन्।
सीसीटीभी फुटेजमा देखिएअनुसार लुटेराले आक्रमण गर्न खोज्दा युवतीले कुर्सी उठाएर प्रहार गरेकी थिइन्। यस क्रममा केहीबेर हातपातसमेत भएको थियो। युवतीको प्रतिकारपछि लुटेराहरू आत्तिएर सटर खोल्दै घटनास्थलबाट भाग्न बाध्य भएका थिए। उनको साहसका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ का अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी तीव्र पारिएको छ। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जसले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ।
प्रहरीका अनुसार चार महिनाअघि न्युरोड क्षेत्रमा भएको लुटपाट घटनासँग पनि यही समूहको संलग्नता हुन सक्ने आशंका गरिएको छ। त्यसबेला लुटेराहरूले नगद र मोबाइल लुटेका थिए।
यस घटनाले काठमाडौँमा बढ्दो आपराधिक गतिविधिप्रति चिन्ता बढाएको छ भने साहसी युवतीको बहादुरीको सर्वत्र प्रशंसा भइरहेको छ। प्रहरीले यस्ता घटनाबाट सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।