खसीबोका किन्दै हुनुहुन्छ ? स्वस्थ पशु चिन्न हरियो रङको चिह्न हेर्नुहोस्

insight dainik

दसैँका लागि काठमाडौं उपत्यकामा ल्याइएका खसीबोका, च्याङ्ग्रा र राँगाभैँसीको स्वास्थ्य परीक्षण तीव्र, बिरामी पशुको बिक्रीमा रोक

काठमाडौं । दसैँमा मासुका लागि खसीबोका किन्दै हुनुहुन्छ भने पशुको सिङमा लगाइएको रङमा ध्यान दिनुहोस्। पशु सेवा विभागले स्वस्थ पशुको पहिचान गर्न हरियो र बिरामी वा शङ्कास्पद पशुलाई छुट्याउन रातो रङको चिह्न लगाउने व्यवस्था गरेको छ।

दसैँलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न पशु बजारमा पशु चिकित्सकको टोलीले स्वास्थ्य परीक्षणलाई तीव्र बनाएको छ। विभागका अनुसार घटस्थापनादेखि सुरु भएको परीक्षण नवमीसम्म जारी रहनेछ।

विभागका महानिर्देशक उमेश दाहालका अनुसार पछिल्ला तीन दिनमा ६ हजार ८०० खसीबोका, एक हजार ५०० च्याङ्ग्रा र १०० राँगाभैँसीको स्वास्थ्य परीक्षण गरिएको छ। यस अवधिमा ४१ टन माछाको समेत निरीक्षण गरिएको छ।

बिरामी पशुको बिक्रीमा रोक

पशु चिकित्सकले खसीबोकाको बाहिरी अवस्था, सक्रियता, आँखा, नाकबाट सिँगान बगेको अवस्था तथा पखालाजस्ता लक्षण जाँच गर्छन्। अस्वस्थ, थकित वा ज्वरो तथा रोगको आशङ्का भएका पशुलाई रातो चिह्न लगाएर छुट्टै राखिन्छ। आवश्यकताअनुसार द्रुत परीक्षण किट प्रयोग गरी नमुना प्रयोगशालामा पठाइन्छ।

विभागले शङ्कास्पद ११ वटा नमुना सङ्कलन गरी परीक्षण गरिरहेको जनाएको छ। हालसम्मको प्रारम्भिक निरीक्षणले उपभोक्ताले आत्तिनुपर्ने अवस्था नदेखिएको विभागको भनाइ छ।

खसीबोका किन्दा के कुरामा ध्यान दिने ?

विभागले उपभोक्तालाई हरियो चिह्न लगाइएका पशु रोज्न आग्रह गरेको छ। पशु किन्दा आँखा चम्किलो भएको, सक्रिय र सजिलै उभिन तथा हिँड्न सक्ने पशु छान्नुपर्छ। मुखबाट अत्यधिक र्‍याल बग्ने, नाकबाट सिँगान आउने, पेट अस्वाभाविक रूपमा फुलेको वा सुस्त देखिने पशु नकिन्न सुझाव दिइएको छ।

काठमाडौंको कलंकी पशु बजारमा दसैँका दुई सातामा ८० हजारदेखि एक लाखसम्म खसीबोका खपत हुने अनुमान छ। व्यापारीका अनुसार यस अवधिमा तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गर्छ।

यस वर्ष पनि कलंकी, टुकुचा र लोकन्थलीलगायत बजारमा खसीबोकाको आपूर्ति पर्याप्त रहेको विभागले जनाएको छ। तर मासुको मूल्य बढ्दा उपभोक्ताको खर्च भने बढ्ने चिन्ता छ।

रङको चिह्नले पशुको स्वास्थ्यबारे प्रारम्भिक जानकारी दिए पनि खरिद गर्दा पशुको अवस्था ध्यानपूर्वक जाँच्नु आवश्यक छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्