काठमाडौं । चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप कडा बनाइने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरी ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।
चाडपर्वका बेला मानिसको आवतजावत र भीडभाड बढ्ने भएकाले चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्न सक्ने प्रहरीको आकलन छ। सोही आधारमा सम्भावित जोखिमका क्षेत्र पहिचान गरी सुरक्षा योजना बनाइएको हो।
प्रहरीका अनुसार सुरक्षा चुनौतीका रूपमा हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पाकेटमारी, चोरी, जुवातास, डकैती तथा विदेशी मुद्रा कारोबारका नाममा हुने ठगीलाई राखिएको छ। यस्तै, पेय पदार्थमा नशालु पदार्थ मिसाएर आपराधिक घटना गराउने गतिविधिमाथि पनि निगरानी बढाइनेछ।
चाडपर्वमा किनमेल तथा धार्मिक गतिविधिका लागि मानिसको चहलपहल अत्यधिक हुने भएकाले त्यस्ता क्षेत्रमा प्रहरीको उपस्थिति बढाउने तयारी गरिएको छ।
प्रहरीले काठमाडौंका संवेदनशील क्षेत्रलाई विभिन्न समूहमा वर्गीकरण गरेको छ। धार्मिक, सांस्कृतिक तथा परम्परागत स्थललाई प्राथमिकतामा राखिएको छ। यसैगरी खाद्यान्न तथा खसीबोका बजार, बढी भीड हुने सार्वजनिक स्थल, बसपार्क र ट्राफिक व्यवस्थापन आवश्यक पर्ने स्थानमा पनि विशेष सुरक्षा व्यवस्था गरिनेछ।
सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्था, ठूला व्यापारिक केन्द्र र सुनचाँदीका पसललाई समेत सुरक्षा निगरानीमा राखिने प्रहरीको योजना छ।
चाडपर्वका समयमा आर्थिक कारोबार र मानिसको आवतजावत बढ्ने भएकाले अपराध रोकथामसँगै भीड व्यवस्थापन र सहज आवागमनलाई पनि सुरक्षा योजनाको महत्वपूर्ण हिस्सा बनाइएको छ। प्रहरीले नागरिकलाई अपरिचित व्यक्ति वा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्