नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदै

insight dainik

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे आयोजना हुँदैछ।

‘परम्पराको सम्मान, परिवर्तनको संकल्प–समृद्ध नेपालका लागि सशक्त नेपाली कांग्रेस’ भन्ने नारासहित आयोजना हुन लागेको महाधिवेशनमा देशभरबाट ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार यो पार्टीको इतिहासकै सबैभन्दा ठूलो महाधिवेशन हुनेछ।

महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार सञ्चालन हुनेछन्। नयाँ नेतृत्व चयनका लागि भने असोज २१ र २२ गते अर्थात् अक्टोबर ७ र ८ मा निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ।

कांग्रेसले यसपटक महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी नीति निर्माणमा केन्द्रित गर्ने जनाएको छ। बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक विषयमा विभिन्न प्रतिवेदनमाथि छलफल हुनेछ। सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितको नीति दस्तावेज प्रस्तुत गर्ने बताइएको छ।

उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विभिन्न राजनीतिक दललाई निमन्त्रणा गरिएको छ। भारत, चीन, अमेरिका लगायत विभिन्न देशबाट विदेशी पाहुनालाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ।

प्रतिनिधिहरूका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा होटलको व्यवस्था गरिएको छ। करिब १० हजार प्रतिनिधि तथा समर्थकका लागि होटल बुक गरिएको जनाइएको छ।

महाधिवेशन स्थलमा स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको छ। ३० स्वास्थ्यकर्मी खटिने स्वास्थ्य डेस्कमा रक्तचाप र रक्तचिनी परीक्षण, सामान्य औषधि तथा आकस्मिक उपचारको व्यवस्था गरिएको छ। दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन्।

यस्तै, प्रतिनिधिका सवारीका लागि धरहरा भूमिगत पार्किङ, माइतीघर–भद्रकाली सडकखण्ड, दरबारमार्गस्थित होटल परिसरलगायत क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्