बैतडी, असोज १७ गते ।
सर्वसाधारणले मालपोत कार्यालयमा जग्गासम्बन्धी काम गर्दा सास्ती भोगेका घटना सुनिँदै आएका छन्। तर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको परिवारले भोगेको समस्या भने अझ अनौठो देखिएको छ। मालपोतको स्रेस्तामा उहाँको ३० रोपनी पैतृक जग्गा २० रोपनीमा सीमित भएको मात्रै होइन, जग्गाको वडा नम्बरसमेत परिवर्तन भएको भेटिएको छ।
चन्दका नाममा साबिक गोकुलेश्वर गाविस–१ मा रहेको ३० रोपनी जग्गा चार छोराका नाममा अंशबन्डा तथा नामसारी गर्न २०८० सालमा नातामा काका पर्ने देवबहादुर चन्दलाई वारेसनामा दिइएको थियो।
वारेसकर्ता देवबहादुर मालपोत कार्यालय पुग्दा स्रेस्ता हेरेपछि तीनवटा समस्या भेटिएको बताउनुभयो। उहाँका अनुसार बैंकबाट कुनै ऋण नलिएको भए पनि जग्गा रोक्का राखिएको थियो। कृषि विकास बैंकमा बुझ्दा भने कुनै ऋण नलिएको प्रमाणित भएको थियो।
त्यसैगरी, ३० रोपनी जग्गामध्ये स्रेस्तामा २० रोपनी मात्रै कायम गरिएको र साबिक वडा नम्बर १ हुनुपर्ने जग्गाको ठेगाना वडा नम्बर ३ बनाइएको पाइएको थियो।
समस्या समाधानका लागि परिवारले करिब दुई वर्ष मालपोत कार्यालय धाए पनि समाधान नभएपछि प्रशासन हुँदै अदालत पुगेको थियो। प्रमुख जिल्ला अधिकारीसमक्ष समेत गुनासो गर्दा समस्या समाधान नभएको देवबहादुरको भनाइ छ।
जिल्ला अदालत बैतडीले असोज १४ गते फैसला गर्दै जग्गाको क्षेत्रफल र ठेगाना बिगारेर सेवाग्राहीलाई दुःख दिएको विषयमा तत्कालीन मालपोत कार्यालय प्रमुख र सम्बन्धित फाँटवालामाथि आवश्यक कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ।
अदालतको निर्देशन भूमि व्यवस्थापन तथा अभिलेख विभाग, सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बैतडी र हालको भूमिसुधार तथा मालपोत कार्यालयमा पठाइएको छ। हाल कार्यरत कार्यालय प्रमुख र फाँटवालालाई समेत सचेत गराउन अदालतले भनेको छ।
अदालतको आदेशपछि दुई वर्षदेखि रोकिएको अंशबन्डाको प्रक्रिया अघि बढ्ने भएको छ। चन्दका चार छोरामध्ये भूपेन्द्र चन्द र विनोदबहादुर चन्द बैतडी पुगेका छन् भने जयन्तबहादुर चन्द र अरुण चन्दले आफ्नोतर्फबाट वारेस पठाएका छन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्