ताइवानमा अमेरिकाका नयाँ एफ–१६भी विमान, चीनसँग तनावबीच बढ्यो हवाई क्षमता

insight dainik

अमेरिकाले ताइवानलाई उपलब्ध गराउन लागेको ६६ वटा एफ–१६भी ब्लक ७० लडाकु विमानमध्ये पहिलो दुई विमान ताइवान पुगेका छन्। चीनसँग ताइवानलाई लिएर सैन्य तनाव कायम रहेका बेला अत्याधुनिक प्रविधियुक्त यी विमान ताइवान पुगेका हुन्।

महिनौँको ढिलाइपछि पहिलो दुई एफ–१६भी शुक्रबार ताइवानको पूर्वी तटमा रहेको चिहाङ एयर बेसमा अवतरण गरेका हुन्। सन् २०१९ मा अमेरिकाले ताइवानलाई करिब ८ अर्ब अमेरिकी डलरमा ६६ वटा एफ–१६भी बिक्री गर्ने सम्झौता स्वीकृत गरेको थियो। तर सफ्टवेयरलगायत प्राविधिक समस्याका कारण विमान आपूर्तिमा ढिलाइ हुँदै आएको थियो।

पहिलो दुई विमान पुगेपछि ताइवानका राष्ट्रपति लाई चिङ–तेले अमेरिकी सहयोगप्रति धन्यवाद दिँदै यसलाई आफ्नो हवाई रक्षा क्षमता बलियो बनाउने महत्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्। ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले बाँकी विमान पनि क्रमशः आउने बताएका छन्।

एफ–१६भी ब्लक ७० अमेरिकी एफ–१६ ‘फाइटिङ फाल्कन’ को नयाँ उत्पादन तथा उन्नत संस्करण हो। यसमा एईएसए राडार, सुधारिएको ककपिट, उन्नत विद्युतीय प्रणाली, आधुनिक सञ्चार तथा हतियार प्रणाली र मिसन कम्प्युटर जडान गरिएको छ।

विमानमा रहेको एपीजी–८३ एईएसए राडारले हवाई तथा जमिनका लक्ष्य पत्ता लगाउने र निगरानी गर्ने क्षमता बढाउँछ। यसको संरचनात्मक आयु १२ हजार उडान घण्टासम्म हुने निर्माता लकहिड मार्टिनको विवरण छ।

नयाँ विमान थपिएसँगै ताइवानसँग रहेका एफ–१६ लडाकु विमानको संख्या २०० भन्दा बढी पुगेको बताइएको छ। ताइवानले यी विमानबाट चिनियाँ वायु सेनाका आधुनिक लडाकु विमानको सामना गर्ने आफ्नो क्षमता थप बलियो हुने अपेक्षा गरेको छ।

अमेरिकाले ताइवानलाई सैन्य सामग्री उपलब्ध गराउँदै आएको विषयमा चीनले भने निरन्तर आपत्ति जनाउँदै आएको छ। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै अमेरिकाले हतियार बिक्री रोक्नुपर्ने बताउँदै आएको छ।

पहिलो एफ–१६भी विमान ताइवान पुगेको घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भेटवार्ता भएको करिब एक सातापछि भएको हो।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्