काठमाडौं । ब्रिटिश गायिका तथा यस वर्षको ग्रामी अवार्डमा ‘बेस्ट न्यु आर्टिस्ट’को उपाधि जितेकी ओलिभिया डीनमाथि गीतको सांगीतिक अंश नक्कल गरेको आरोप लागेको छ। अमेरिकी गायक बिल विथर्सको चर्चित गीत ‘जस्ट द टु अफ अस्’सँग आफ्नो गीतको धुन र सांगीतिक संरचना मिलेको भन्दै उनीविरुद्ध प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा दायर भएको हो।
विथर्सको ‘म्याटी म्युजिक ग्रुप’ले लस एन्जलसस्थित अमेरिकी संघीय अदालतमा डीन, उनका रेकर्ड लेबल तथा प्रकाशक कम्पनीहरूविरुद्ध उजुरी दिएको जनाएको छ। उजुरीमा डीनको सन् २०२५ मा सार्वजनिक भएको ‘द आर्ट अफ लिभिङ’ एल्बममा समावेश ‘आइ ह्याभ सिन इट’ गीतमा ‘जस्ट द टु अफ अस्’का महत्वपूर्ण सांगीतिक अंश र धुन अनुमति नलिई प्रयोग गरिएको दाबी गरिएको छ।
मुद्दा दायर गर्नुअघि संगीतविज्ञ अलेक्ज्यान्डर स्टुअर्टले दुवै गीतको तुलनात्मक अध्ययन गरेको बताइएको छ। अध्ययनमा दुवै रचनाबीच स्पष्ट तथा व्यापक सांगीतिक समानता भेटिएको दाबी मुद्दामा गरिएको छ।
उजुरीमा डीनका गीतकार बास्टियन ल्याङ्बाक र म्याक्स वुल्फग्याङलाई व्यक्तिगत रूपमा विपक्षी बनाइएको छैन। तर उनीहरूले विथर्सको गीत पहिले नै सुनेको र त्यसको प्रभावबारे जानकारी रहेको दाबी गरिएको छ।
मुद्दामा डीनको रेकर्ड लेबल क्यापिटल रेकर्ड्स, युनिभर्सल म्युजिक ग्रुप तथा प्रकाशक कम्पनी सोनी म्युजिक पब्लिसिङ र कोबाल्ट म्युजिकलाई पनि विपक्षी बनाइएको छ।
म्याटी म्युजिक ग्रुपका अनुसार गत अगस्ट १७ मै सम्बन्धित कम्पनीहरूलाई प्रतिलिपि अधिकार उल्लंघनबारे औपचारिक जानकारी गराइएको थियो। तर विवादित गीतको व्यावसायिक प्रयोग र वितरण नरोकिएपछि अदालतको बाटो रोजिएको हो। मुद्दामा क्षतिपूर्तिसँगै गीतको बिक्री तथा वितरणमा स्थायी रोक लगाउन माग गरिएको छ।
सन् १९८१ मा बिल विथर्स र ग्रोभर वासिङ्टन जुनियरको सहकार्यमा सार्वजनिक ‘जस्ट द टु अफ अस्’ चर्चित अन्तर्राष्ट्रिय गीतमध्ये एक हो। उक्त गीत बिलबोर्ड हट १०० को दोस्रो स्थानसम्म पुगेको थियो र ग्रामी अवार्डसमेत जितेको थियो।
हालसम्म ओलिभिया डीन तथा उनका प्रतिनिधि र सम्बन्धित रेकर्ड कम्पनीहरूले मुद्दाबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्