काठमाडौं । नेपालबाट यस वर्षको मनसुन दशैंसम्म पूर्ण रूपमा बाहिरिने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले पछिल्ला मौसमी संकेतका आधारमा मनसुन क्रमशः पश्चिम नेपालबाट पनि बाहिरिन सुरु गर्ने बताएका छन्।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठूलो वर्षा गराउने खालको कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन। छिमेकी भारतका अधिकांश भूभागबाट समेत मनसुन बाहिरिसकेको अवस्थामा नेपालमा पनि यसको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ।
महर्जनका अनुसार हालको अवस्थालाई हेर्दा दशैंसम्म नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना छ। यद्यपि मनसुन बाहिरिनु भनेको त्यसपछि वर्षा पूर्ण रूपमा रोकिनु भन्ने होइन। स्थानीय मौसमी अवस्थाका कारण हल्का वर्षा वा झरी भने हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
यस वर्षको घटस्थापना असोज २५ गते अर्थात् अक्टोबर ११ मा परेको छ भने मुख्य टीका असोज ३१ गते अर्थात् अक्टोबर २० मा मनाइँदैछ। यही अवधिमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ।
नेपालमा सामान्यतया मनसुन जुन १३ आसपास भित्रिने र अक्टोबर २ सम्ममा बाहिरिने गर्छ। तर मनसुनको आगमन र बहिर्गमनको समय हरेक वर्ष मौसम प्रणालीअनुसार केही दिन अगाडि–पछाडि हुने गरेको छ।
मौसमविद् विनोद पोखरेलले पनि सामाजिक सञ्जालमार्फत दशैंका बेला कतिपय स्थानमा बेलाबेला फाट्टफुट्ट झरी वा हल्का पानी पर्न सक्ने बताएका छन्। यस्तो अवस्थामा वर्षासँगै तापक्रम घटेर बिहान र साँझको मौसम चिसो महसुस हुन सक्नेछ।
यससँगै लामो समयदेखि सक्रिय मनसुनी वर्षा क्रमशः कमजोर हुँदै जाने र नेपालमा शरद ऋतुको मौसम थप स्पष्ट बन्दै जाने मौसमविद्हरूको भनाइ छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्