धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको एक सडकखण्डमा शनिबार पाँच घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
भोटेकोशीमा आएको बाढीका कारण गजुरी गाउँपालिका–२ फुर्केखालामा रहेको पुल बगेपछि त्यस क्षेत्रमा वैकल्पिक सडक प्रयोग हुँदै आएको थियो। उक्त वैकल्पिक सडकमा थप मर्मतसम्भार आवश्यक भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार निश्चित समयका लागि यातायात रोक्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सडकमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिनेछ। यस अवधिमा यात्रु तथा चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न आग्रह गरिएको छ।
पुल बगेपछि वैकल्पिक मार्गका रूपमा परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक प्रयोग हुँदै आएको थियो। तर उक्त सडकको विभिन्न स्थानमा थप मर्मत तथा सुधारको काम आवश्यक देखिएपछि केही समय यातायात रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ।
यात्रु तथा सवारी चालकका लागि प्रशासनले धादिङबेँसी–सुनौला बजार–भोर्ले–कोसिखोला–फोस्रेटार–कल्लेरीटार लगायतका अन्य सम्भावित वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौं र देशका विभिन्न भागमा आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारी साधनको चाप रहने भएकाले पाँच घण्टाको बन्दले यात्राको समय प्रभावित हुन सक्ने देखिएको छ।
प्रशासनले सडक मर्मतको क्रममा तोकिएको समयभित्र वैकल्पिक मार्ग प्रयोग गर्न र सम्बन्धित निकायले जारी गर्ने सूचनाअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।
सडक सञ्चालनमा सहजता ल्याउन आवश्यक मर्मतसम्भार पूरा गरेपछि यातायात पुनः सञ्चालन गरिने जनाइएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्