इन्टरनेटका सस्ता प्याकेज हट्ने, महँगा प्याकेज लिनुपर्ने अवस्था आउन सक्ने

insight dainik

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले कम मूल्यमा उपलब्ध गराउँदै आएका केही प्याकेज हटाउने तयारी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले बढ्दो सञ्चालन खर्चका कारण सस्तो मूल्य र कम गतिको इन्टरनेट प्याकेजलाई निरन्तरता दिन कठिन भएको जनाएको हो।

आईस्पानले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी असोज १९ गते सोमबारदेखि हाल उपलब्ध सस्ता तथा कम गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ हुने जानकारी दिएको छ। यससँगै उपभोक्ताले अहिलेभन्दा महँगा प्याकेज लिनुपर्ने अवस्था आउन सक्ने देखिएको छ।

संघका अनुसार पछिल्ला वर्षमा इन्धन, अप्टिकल फाइबर, विद्युतीय सामग्री तथा चिपसेटको मूल्य बढेको छ। त्यसैगरी मुद्रास्फीति बढ्नु र कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै सेवा प्रदायकको सञ्चालन खर्च पनि बढेको दाबी आईस्पानको छ।

यता इन्टरनेटको शुल्क बढाउने विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने सेवा प्रदायकले आफूखुसी मूल्य बढाउन नपाउने स्पष्ट पारेको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कुनै सेवा प्रदायकले शुल्क परिवर्तन गर्न चाहेमा त्यसको प्रस्ताव प्राधिकरणमा पेश गर्नुपर्ने र स्वीकृति पाएपछि मात्रै नयाँ शुल्क लागू गर्न सकिन्छ।

प्राधिकरणले उपभोक्ताले सहज र सुलभ रूपमा दूरसञ्चार सेवा प्राप्त गर्नुपर्ने मान्यता रहेको पनि जनाएको छ।

आईस्पानले भने आफ्ना सदस्य सेवा प्रदायकलाई प्राधिकरणबाट स्वीकृत दरअनुसारका इन्टरनेट प्याकेज वेबसाइटमा स्पष्ट रूपमा राख्न आग्रह गरेको छ। साथै ग्राहकलाई सेवा शुल्क भुक्तानी गर्दा अनिवार्य रूपमा भ्याट बिल लिनसमेत अनुरोध गरिएको छ।

यसअघि इन्टरनेट सेवा शुल्कसम्बन्धी विवादमा केही सेवा प्रदायकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त विवादको फैसला आफ्नो पक्षमा नआएपछि आईस्पानले सस्ता प्याकेज हटाउने निर्णय गरेको भन्ने दाबीसमेत समाचारमा उल्लेख गरिएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्